काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको उपसभापतिमा सोविता गौतम निर्वाचित भएकी छन्।
उनी प्रतिस्पर्धी डा. तोसिमा कार्कीलाई पछि पार्दै उपसभापतिमा निर्वाचित भएकी हुन्। सोविताले ७८९ मत र तोसिमाले ५७२ मत पाए। सोविता पार्टी सभापति रवि लामिछानेले विश्वास गर्ने नेतामध्येमा पर्छिन्।
रविविरुद्ध सहकारीको रकम अपचलन गरेको अभियोगमा मुद्दा दायर भएपछि सोविता त्यसको विरोधमा खरोरुपमा उत्रिएकी थिइन्। सोवितालाई उपसभापतिका आकांक्षीहरु इन्दिरा रानामगर र समीक्षा बाँस्कोटाले समर्थन गरेका थिए। उपसभापतिकी अर्की आकांक्षी लिमा अधिकारी भने तोसिमाको प्रस्तावक बसेकी थिइन्।
रास्वपामा तीन उपसभापति रहनेमा डा. स्वर्णिम वाग्ले निर्विरोध भएका छन् भने एक जना सभापतिले मनोनीत गर्ने व्यवस्था छ।
सहमहामन्त्रीमा खुलातर्फ असिम शाह र हरि ढकाल तथा महिलातर्फ निशा डाँगीले बाजी मारेका छन्। असिमले ४७१ र हरिले ४१० तथा निशाले ७३७ मत पाए।
खुलातर्फ दुई सहमहामन्त्रीका लागि असिम र हरिसँग ९ जनाले तथा निशासँग चार जनाले प्रतिस्पर्धा गरेका थिए।