काठमाडौं। मंगलबार विशेष अदालतमा पूर्वअर्थमन्त्री एमाले उपाध्यक्ष विष्णु पौडेलको थुनछेक बहसको प्रत्यक्ष प्रसारण सामाजिक सञ्जालदेखि अनलाइन मिडियामा भइरहेको थियो।
सम्पत्ति शुद्धीकरणको मुद्दामा अनुसन्धानका लागि पक्राउ परेका पौडेलको पक्षमा बहस गर्ने अधिवक्ताविरुद्ध सामाजिक सञ्जाल प्रयोगकर्ताले ज्यानमार्नेसम्मको धम्की दिए।
ती प्रयोगकर्ता त्यतिमै रोकिएनन्, न्यायाधीशलाई पनि सिध्याउने धम्की दिए। यस्तो अवस्थामा न्यायाधीश र अधिवक्ताहरुले कमेन्ट पढे न्याय सम्पादनमा के असर पर्ला?
***
पछिल्लो समय नेताका साथै सार्वजनिक व्यक्तिविरुद्ध एआईको प्रयोग गरी सार्वजनिक बेइज्जती गर्ने किसिमका कार्य भइरहेका छन्। यसै विषयमा आफू सिकार भएको भन्दै चैत ३० गते राप्रपाकी सांसद खुस्बु ओली साइबर ब्युरो पुगिन्।
फेसबुक, टिकटक र ट्वीटरमा आएका यस्ता बग्रेल्ती गालीको उजुरी अहिले साइबर ब्युरोमा पुगेर थुप्रिन्छ। यस्ता विषयमा के कारबाही गर्ने भन्ने नीतिगत प्रस्टता नभएकोले प्रहरीसमेत अलमलमा देखिन्छ? यस्तो विषयमा अदालतले के गर्ने?
सोसल मिडियासँग सम्बन्धित यिनै विषयलाई मुल मुद्दा बनाएर देशभरका कानुनका विद्यार्थी काठमाडौंमा पैरवीमा उत्रने भएका छन्। असार १९ गते शुक्रबार काठमाडौंको ल क्याम्पसमा उनीहरु यस विषयमा मुट कोर्टमा उत्रन लागेका हुन्।

‘सातौं भरतराज उप्रेती मेमोरियल फाउन्डेसन मुट कोर्ट कम्पिटिसन’ नामक कार्यक्रममा ‘सामाजिक सञ्जालको दुविधा : अधिकार, नियमन र उपचार’ विषयमा पैरवी हुने छ।
भरतराज उप्रेती मेमोरियल फाउन्डेसनले आयोजना गर्न लागेको कार्यक्रमको फाइनल राउन्ड भने ललितपुरको पुल्चोकस्थित द प्लाजामा हुनेछ। पायोनियर ल एसोसिएट्स फाउन्डेसनको भ्रातृ संस्था हो।
यो पैरवीमा स्नातक तहमा अध्ययनरत १८ कलेजका ५४ जना विद्यार्थी सहभागी हुने पायोनियर ल एसोसिएट्सकी प्रबन्ध निर्देशक पुजा मल्लले बताइन्।
कक्षामा सिकेका कानुनी ज्ञानलाई व्यवहारमा उतार्न फाउन्डेसनले हरेक वर्ष ‘मुट कोर्ट’ आयोजना गर्दै आएको पायोनियर ल एसोसिएट्स प्रालिका सञ्चालक अनुपराज उप्रेतीले बताए। ‘कानुनी शिक्षामा कक्षामा सिकेका पढाईलाई व्यवहारमा उतार्न मूट कोर्टले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ। विदेशमा यस्तो अभ्यास प्रशस्त हुन्छ,’ उप्रेतीले भने, ‘नेपालमा पनि फाउन्डेसनले यो अभ्यास गर्दै आएको छ।‘

मुटकोर्टको निर्णायकमा सर्वोच्च अदालतदेखि महान्यायाधिवक्ता कार्यालय र साइबर ब्युरोका अधिकारी रहनेछन्। उच्च अदालतका न्यायाधीशदेखि अधिवक्ताहरुको सहभागिता रहनेछ।
वाक स्वतन्त्रता लगायत समसामयिक विषयमा मुट कोर्टमा बहस हुने उप्रेतीले बताए। ‘अहिले सामाजिक सञ्जालमा आउने गाली धम्कीलाई कसरी लिने भन्नेमा बहस आवश्यक छ। त्यसैले हामीले यसलाई मुख्य विषय बनाउने तयारी गरेका छौं। वाक स्वतन्त्रताको सीमाबारे पनि बहस छ। हेट स्पिच छ,’ उप्रेतीले भने, ‘कस्ता कस्ता क्राइम भइरहेका छन्। कानुनले क्राइम मानेको छ कि छैन? नभए कसरी कारबाही अघि बढिरहेको छ भनेर पनि अनुसन्धान अधिकृतसँग प्यानल डिस्कसनमा इस्यु उठ्ला।‘
फाउन्डेसनले न्याय सेवामा युवा विद्यार्थीलाई प्रोत्साहित गर्ने र नीति तथा कानुन निर्माण तहको ध्यानाकर्षण गराउन कार्यक्रम गर्न लागेको हो। ‘यस्ता कार्यक्रमले युवाहरुलाई कानुनको अभ्यासमा प्रोत्साहित गर्नुका साथै देशको नीति निर्माणमासमेत सहयोग पुग्छ,’ उप्रेतीले भने।
सर्वोच्चका पूर्वन्यायाधीश भरतराज उप्रेतीको सम्झनामा फाउन्डेसनले मुट कोर्ट कार्यक्रम आयोजना गर्न थालेको हो। उनको २०७२ जेठ ११ गते निधन भएको थियो।
पहिलो हुनेलाई एक लाख पुरस्कार
पैरवीमा ब्राइट भिजन ल कलेज, तुलसीपुर मेट्रो कलेज, नेसनल ल कलेज, लुम्बिनी बुद्धिस्ट युनिभर्सिटी, हिमालयन ह्वाइट हाउस कलेज अफ ल, महर्षि ल कलेज, पृथ्वी नारायण क्याम्पस, मिडवेस्ट युनिभर्सिटी ग्राजुएट स्कुल अफ लका विद्यार्थीले भाग लिंदैछन्।
यस्तै काठमाडौं युनिभर्सिटी स्कुल अफ ल, कैलाली मल्टिपल क्याम्पस, सुदूरपश्चिम विश्वविद्यालय, नेपाल ल क्याम्पस, चक्रवर्ती हबी ल कलेज, काठमाडौं स्कुल अफ ल, ख्वाप कलेज अफ ल, लुम्बिनी इन्टिग्रेटेड एकेडेमी, बुटवल मल्टिपल क्याम्पस र गण्डकी विश्वविद्यालयले पनि भाग लिने तालिका छ।
पैरवीमा उत्रने ५८ विद्यार्थीमध्ये उत्कृष्ट एक समूहले एक लाख रुपैयाँ पुरस्कार पाउनेछ। बेस्ट लिगल ओपिनियन, बेस्ट ओरल र कमान्डिङ कोर्टरुम प्रिजेन्स अवार्डबापत ५०/५० हजार रुपैयाँ दिने आयोजकले बताएको छ।