काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयबाट बिहीबार लटौली स्याङ्चुअरी रिसोर्टमा एउटा इमेल पुग्यो।
इमेलमा भनिएको थियो-‘तपाइँहरुको आतिथ्यताप्रति धन्यवाद। खानादेखि सुरक्षासम्म अत्यन्तै राम्रो गर्न सहयोग पुर्याउने सबै कर्मचारीलाई धेरै धन्यवाद।
बालेनले काठमाडौं फर्किएको भोलिपल्ट रिसोर्टलाई इमेल पठाएका हुन्। उनले सबैलाई प्रत्यक्षरुपमा भेटेर धन्यवाद दिन नपाएको भन्दै इमेल पठाएर आभार व्यक्त गरेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को महाधिवेशनमा भाग लिन पत्नी सविना काफ्ले र छोरीसहित आइतबार चितवन पुगेका बालेन तीन दिन त्यही रिसोर्टमा बसेका थिए।
पार्टी सभापति रवि लामिछाने पनि पत्नि निकिता पौडेलसँगै तीन दिन लटौली स्याङ्चुअरी रिसोर्टमै बसेका थिए।
स्रोतका अनुसार बालेनले बेलुकाको डिनरमा दाल, भात, तरकारी खाएका थिए। ‘हामीले सामान्य रुपमा दालभात स्थानीय स्तरमा उत्पादित तरकारी र मासु बनाएका थियौं। उहाँले त्यही खानुभयो,’ रिसोर्टका एक कर्मचारीले बिजमाण्डूसँग भने, ‘दिउँसोको खाजा भने चाउमिन खानुभएको थियो।’
उनका अनुसार भीभीआइपी बसेका कारण व्यवस्थापन गर्न टफ भएन। ‘देशकै कार्यकारी बस्दा केही अप्ठेरो वा चुनौती आउने होकी भन्ने डर हामीलाई थियो। तर, हामीलाई व्यवस्थापनमा कुनै समस्या परेन,’ ती कर्मचारीले भने, ‘त्यस्तो कुनै हाईफाई पनि थिएन। उहाँको सचिवालयबाट राम्रो समन्वय भयो।’
ती कर्मचारीका अनुसार प्रधानमन्त्री बालेन अत्यन्तै शान्त देखिए। उनी निकै कम बोलेका थिए। आइतबार राति प्रधानमन्त्री बालेन र रास्वपा सभापति रवि अबेरसम्म छलफलमा थिए। महाधिवेशनका एजेण्डामा छलफल सकिएपछि उनीहरु अफबिट विषयतर्फ मोडिएका थिए।

स्रोतका अनुसार आ-आफ्नो प्रतिभा देखाउने क्रममा रविका स्वकीय सचिव अविनाश आचार्यले लोकगायक स्वर्गीय झलकमान गन्धर्वको गीत ‘हे बरै’ गाए। यो गीतमा मोहित भएपछि प्रधानमन्त्री बालेनले आफ्नो टिमले खिचेको भिडियो सामाजिक सञ्जालमा अपलोड गरेका थिए।
तीन होटलको नाम, अन्तिममा लटौली
रास्वपाको महाधिवेशनमा सहभागी हुन चितवन जानुअघि जिल्ला प्रशासन कार्यालयलाई प्रधानमन्त्री बालेनका लागि होटलको नाम पठाउन भनिएको थियो।
जिल्ला प्रशासन कार्यालय चितवनले तीन वटा होटलको नाम प्रधानमन्त्रीको सचिवालयमा पठायो। मौलाकालिकामा रहेको इला, पटिहानीमा रहेको रिभर ब्यांक जंगल रिसोर्ट र लटौली स्याङ्चुअरीको नाम पठाइएकामा अन्तिममा लटौली छनोट गरिएको थियो।
स्रोतका अनुसार चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले नै शक्तिखोरस्थित लटौली उपयुक्त हुने बताएका थिए। अर्याल र रिसोर्ट संचालक ज्ञानेन्द्र खड्का पछिल्लो समयमा निकट रहेको स्रोतले बतायो।
रास्वपाको महाधिवेशनस्थल भरतपुरबाट करिब २० किलोमिटर टाढा र चितवनको केही दुर्गम स्थलमा बनेको अत्याधुनिक रिसोर्ट प्रधानमन्त्री बालेनको सचिवालयको पनि रोजाइमा पर्यो।
स्रोतका अनुसार केही समयअघि रास्वपाका महामन्त्री भूपदेव शाह पनि त्यो रिसोर्टमा बसेका थिए। यो सबै फ्याक्टरले प्रधानमन्त्री बालेनका लागि लटौली जाने वातावरण बनेको थियो।
झण्डै तीन महिनाअघि संचालनमा आएको यो रिसोर्ट ८ विघा जग्गामा छ। प्रधानमन्त्री बालेन बसेपछि रिसोर्टमा एकाएक इन्क्वाइरी बढेको छ।

‘प्रधानमन्त्रीज्यू आएर बसेपछि हाम्रो रिसोर्टको राम्रो ब्राण्डिङ भएको छ। इन्क्वाइरी बढेका कारण व्यापार राम्रो हुने देखिएको छ,’ रिसोर्टका महाप्रबन्धक रोशन पुरीले भने।
रिसोर्टले डिलक्स रुमको मूल्य एक रातको १५५ अमेरिकी डलर र सुइट रुमको मूल्य २२५ अमेरिकी डलरबाट सुरु हुने उल्लेख गरे पनि १५ हजार रुपैयाँमा दिने गरेको छ।
श्री ग्यासको गाडी
असार ७ गते सेतो रंगको निजी नम्बर प्लेट भएको नयाँ टोयटा ल्यान्ड क्रुजर-२५० गाडी भरतपुर विमानस्थलको विशिष्ट कक्ष बाहिर राखियो। रास्वपाको महाधिवेशनमा सहभागी हुन बुद्ध एयरको जहाजबाट विमानस्थलमा उत्रिएका बालेन, उनकी पत्नी सविना काफ्ले र छोरी त्यही गाडीमा चढे।

निजी नम्बर प्लेटको गाडी कसको हो? स्रोतका अनुसार यो गाडी श्री ग्यासका संचालक सुरेन्द्रराज पौडेलको हो। उनी एक दशकअघि ग्यास व्यवसायमा प्रवेश गरेका हुन्। श्रीबाहेक बाबा र लुम्बिनी ग्यास पनि उनकै हो।
स्रोतका अनुसार लटौली रिसोर्टका संचालक खड्का र ग्यास उद्योगका संचालक पौडेलबीच निकटता छ। यही निकटताकै कारण प्रधानमन्त्री बालेनका लागि पौडेलले आफ्नो ल्यान्डक्रुजर दिएका हुन्।

प्रधानमन्त्री बालेन गाडीका सोखिन भएका कारण यो गाडी छानिएको हो। प्रतिनिधि सभा निर्वाचनको प्रचारका बेलासमेत बालेन प्रिमियम गाडीमा सवार भएका थिए। उनले सुरुमा ल्याण्ड रोभरको डिफेन्डर चढेका थिए।
करेन्ट चाउचाउ उत्पादक समेत रहेका कमलकिशोर मालपानीका छोरा नितेशको नाममा रहेको त्यो गाडीले आफू विवादमा परेपछि बालेन चुनावी अभियानमै छाडेर हिडेका थिए। त्यसपछि उनी रातो टेस्ला गाडीमा झुल्किएका थिए।
त्यो गाडी सुशील कडरियाको थियो। सुशील नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियूका पूर्वअध्यक्ष सुजन कडरियाका भाइ हुन्। सुशील बालेनकै टिमका सदस्य भएकाले चुनावी अभियानमा समेत साथै हिंड्ने गरेका थिए।
स्रोतका अनुसार प्रधानमन्त्री बालेन बाइक चलाएर हिंड्न पनि मन पराउँछन्। दार्चुला जाने क्रममा उनी गाडीबाट निस्किएर क्रसफायर बाइक चलाउँदै हिंडेका थिए।