BIZMANDU
www.bizmandu.com

कच्चा तेलको मूल्य ७२ अमेरिकी डलरमा झर्‍यो, खाडी संकट सुरु हुनुपूर्वकै अवस्थामा बजार

२०८३ असार ११

कच्चा तेलको मूल्य ७२ अमेरिकी डलरमा झर्‍यो, खाडी संकट सुरु हुनुपूर्वकै अवस्थामा बजार
कच्चा तेलको मूल्य ७२ अमेरिकी डलरमा झर्‍यो, खाडी संकट सुरु हुनुपूर्वकै अवस्थामा बजार

काठमाडौं। कच्चा तेलको मूल्य ह्वात्तै घटेको छ। तेल ओसारपसारका लागि प्रमुख व्यापारिक जलमार्ग स्ट्रेट अफ हर्मोजबाट व्यावसायिक जहाजहरुको आवतजावत पूर्ववत् अवस्थामा फर्कन थालेसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेको हो।

Tata
GBIME
Nepal Life

बीबीसीका अनुसार तेलको मूल्य इरान युद्ध सुरु हुनुभन्दा अघिको विन्दुमा ओर्लिएको छ।

अन्तर्राष्ट्रिय बेन्चमार्क ‘ब्रेन्ट क्रुड’को मूल्य आज प्रति ब्यारेल ७२.४८ अमेरिकी डलरमा झरेको छ। डब्लुटीआई क्रुड आयलको मूल्य ६९.६५ डलर पुगेको छ। यो मूल्य समाचार तयार पार्दासम्मको हो। इन्डेक्समा मूल्य घट्ने क्रम जारी नै छ

गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि आक्रमण गर्नुभन्दा ठीक अघिल्लो दिन तेलको मूल्य यही आसपास रहेको थियो।

फेब्रुअरीको आक्रमणको जवाफमा इरानले तेल र ग्यास आपूर्तिका लागि विश्वकै महत्त्वपूर्ण मानिने हर्मोज जलमार्ग ठप्प पारेपछि विश्व बजारमा इन्धनको मूल्यमा निकै ठूलो उतारचढाव आएको थियो।

तर, गत जुन १७ मा अमेरिका र इरानका राष्ट्रपतिबीच एक समझदारी पत्रमा हस्ताक्षर भएपछि कच्चा तेलको मूल्य तीव्र गतिमा घट्न थालेको हो। उक्त समझदारीले तेहरानको आणविक कार्यक्रम र युद्ध अन्त्यका अन्य उपायहरूका बारेमा वार्ता गर्न ६० दिनको समयसीमा तोकेको छ।

युद्धको अन्त्यका लागि दुवै पक्षका प्रतिनिधिहरु गत साता स्विट्जरल्याण्डमा छलफलमा समेत जुटेका थिए। सोही वार्ताको सकारात्मक परिणामस्वरुप अमेरिकाले इरानी तेल निर्यातमा लगाएको प्रतिबन्ध आंशिक रुपमा हटाएको थियो।

केपलरका अनुसार समझदारी पत्रमा हस्ताक्षर भएसँगै हर्मोज पार गर्ने जहाजहरुको संख्यामा वृद्धि भएको छ। हालैका दिनहरुमा सो जलमार्ग हुँदै कच्चा तेल, तरल प्राकृतिक ग्यास, रासायनिक मल र अन्य सामग्री बोकेका जहाजहरु आवतजावत गरिरहेको छ।

यसैबीच, मध्यस्थकर्ता राष्ट्रहरु कतार र पाकिस्तानले सोमबार एक संयुक्त विज्ञप्ति जारी गर्दै हर्मोजबाट व्यावसायिक जहाजहरुको सुरक्षित आवतजावत सुनिश्चित गर्न अमेरिका र इरानबीच ‘कम्युनिकेसन लाइन’ स्थापना गरिएको जनाएका थिए। यसको मुख्य उद्देश्य समुद्री मार्गमा हुन सक्ने सम्भावित असमझदारीलाई रोक्नु रहेको उनीहरुको दाबी थियो।

सो क्षेत्रमा फसेका जहाजहरुलाई परामर्श दिने सामुद्रिक जोखिम सल्लाहकार कम्पनी मारिस्क्सका मुख्य कार्यकारी दिमित्रिस मनियाटिसले हालैका दिनहरुमा जलमार्ग प्रयोग गर्ने जहाजहरूको संख्यामा धेरै परिवर्तन आएको बताएका छन्। उनको कम्पनीको अनुमान अनुसार स्विट्जरल्याण्डमा अमेरिका र इरानबीच भएको पहिलो चरणको शान्ति वार्तापछि सोमबारयता मात्रै करिब ८० वटा जहाजले हर्मोज पार गरिसकेको बीबीसीले जनाएको छ।

मनियाटिसका अनुसार इरानी अधिकारीहरुको अनुमतिमा सीमित संख्याका जहाजहरूले उत्तरी मार्ग प्रयोग गर्न पाएका छन्। अर्कोतर्फ, अमेरिकी नौसेनाले पनि युद्धका क्रममा बिछ्याइएका एम्बुस तथा अन्य अवरोधहरूबाट सुरक्षित रहँदै दक्षिणी मार्ग प्रयोग गर्न जहाजहरुलाई दिशा देखाइरहेका छन्।

यद्यपि, हर्मोज पार गर्ने जहाजहरुको संख्या अझै पनि युद्धपूर्वको अवस्थामा पुग्न सकेको छैन। युद्ध हुनुअघि यस जलमार्गबाट दैनिक १०० भन्दा बढी जहाजहरु आवतजावत हुने गर्थ्यो। अहिले पनि सयौं जहाजहरु खाडी क्षेत्रमै पालो पर्खेर बसिरहेका देखिन्छन्।