BIZMANDU
www.bizmandu.com

धुलिखेल माउन्टेन रिसोर्ट विस्तार गरिँदै, ६० करोड लगानीमा एक भवन र २० भिल्ला थपिने

२०८३ असार ११

धुलिखेल माउन्टेन रिसोर्ट विस्तार गरिँदै, ६० करोड लगानीमा एक भवन र २० भिल्ला थपिने
धुलिखेल माउन्टेन रिसोर्ट विस्तार गरिँदै, ६० करोड लगानीमा एक भवन र २० भिल्ला थपिने

काठमाडौं। धुलिखेल माउन्टेन रिसोर्टको क्षमता १७० शय्यासम्म विस्तार गरिने भएको छ। विस्तार योजनाका लागि कम्पनीले वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) प्रतिवेदन तयार गरेको छ।

Tata
GBIME
Nepal Life

ईआईए प्रतिवेदनअनुसार हाल रिसोर्टमा ९ वटा भवन र २४ वटा कटेज छन्। विस्तारपछि १० वटा भवन, २४ वटा कटेज र २० वटा भिल्ला रहनेछन्।

यो रिसोर्ट नयाँ संचालकले २०८० सालमा खरिद गरेका थिए। पर्यटन विभागले माघ ५ गते ४२ कोठा र ९० शय्याका लागि प्रारम्भिक वातावरणीय परीक्षण स्वीकृत गरेको थियो। सोही स्वीकृतिअनुसार रिसोर्ट संचालनमा छ।

अब ८० शय्या थपेर कुल क्षमता १७० शय्या पुर्‍याइनेछ। हाल ४२ कोठा रहेको रिसोर्टमा विस्तारपछि ८२ कोठा उपलब्ध हुनेछन्।

रिसोर्टमा ६०० जना अट्ने ब्याङ्क्वेट हल निर्माण गरिनेछ। साथै २० जना क्षमताको मिटिङ हल र २५ जना अट्ने कन्फ्रेन्स हल पनि रहनेछ।

करिब १०० रोपनी क्षेत्रफलमा फैलिएको रिसोर्टमा ८० वटा दुईपाङ्ग्रे र ४० वटा चारपाङ्ग्रे सवारी पार्किङको सुविधा हुनेछ। ५ वटा स्वीट कोठा पनि रहनेछन्।

विस्तार परियोजनामा कम्पनीले ६० करोड रुपैयाँ लगानी गरिरहेको छ। लगानी फिर्ता हुने अवधि १५ वर्ष अनुमान गरिएको छ।

हाल थप संरचना निर्माणको काम जारी छ। यसअन्तर्गत एक मुख्य भवन र २० वटा भिल्ला बनाइँदै छन्। तीमध्ये ६ वटा डिलक्स भिल्ला, ७ वटा ट्वीन भिल्ला, २ वटा स्वीट भिल्ला, १ वटा क्यासिनो भिल्ला र १ वटा स्पा भिल्ला रहनेछन्।

निर्माण सम्पन्न भएपछि रिसोर्टमा पाहुना कक्ष, आपतकालीन सेवा योजना, स्पा, सभा तथा बैठक हल, ब्याङ्क्वेट हल, स्विमिङ पुल, क्यासिनो, जिम, योगा कक्ष, क्याफे लगायतका सुविधा थपिनेछन्। साथै, अपाङ्गमैत्री कोठा र शौचालयको व्यवस्था पनि गरिनेछ।