काठमाडौं। एमएडब्लु वृद्धिले ललितपुरको बालकुमारीमा विद्युतीय सवारी (इभी) वर्कसप संचालनमा ल्याएको छ। इभी प्रयोगकर्तालाई गुणस्तरीय तथा सहज सेवा उपलब्ध गराउने उद्देश्यसहित निर्माण गरिएको वर्कसपको बिहीबार औपचारिक उद्घाटन गरिएको छ।
वर्कसपको उद्घाटन एमएडब्लु ग्रुपकी अध्यक्ष शान्ति देवी अग्रवाल, एमएडब्लु वृद्धिका अध्यक्ष विष्णु कुमार अग्रवाल, डोङफेङ मोटर्सकी दक्षिण एसिया क्षेत्रीय बिक्री निर्देशक हे जिसिन, क्षेत्रीय सर्भिस म्यानेजर लि सिनचुङ तथा एमएडब्लु वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकारियाले संयुक्त रूपमा गरेका हुन्।
कम्पनीका अनुसार नयाँ वर्कसपले डिपल, नामी र सेरेस ब्रान्डका इभी प्रयोगकर्तालाई बिक्रीपछिको सेवा थप प्रभावकारी बनाउनेछ। इभीको बढ्दो प्रयोगसँगै सर्भिस पूर्वाधार विस्तार आवश्यक रहेको भन्दै कम्पनीले आधुनिक प्रविधिसहितको सेवा केन्द्र संचालनमा ल्याएको जनाएको छ।
बालकुमारीस्थित वर्कसपमा ९ वटा डेडिकेटेड सर्भिस बे छन्। यहाँ २४ जना दक्ष इभी प्राविधिकले दैनिक ३६ भन्दा बढी सवारीसाधनको सर्भिसिङ गर्न सक्ने व्यवस्था गरिएको छ।

इभीको अवस्था तथा ब्याट्रीको कार्यक्षमता परीक्षण गर्न अत्याधुनिक ब्याट्री डायग्नोस्टिक प्रणाली समेत जडान गरिएको कम्पनीले जनाएको छ।
करिब १५ हजार वर्गमिटर क्षेत्रफलमा फैलिएको वर्कसपमा स्पेयर पार्ट्स भण्डारण सुविधा, प्राविधिकहरूको क्षमता अभिवृद्धिका लागि प्रशिक्षण कक्ष तथा ग्राहकका लागि आरामदायी प्रतिक्षा कक्षको व्यवस्था गरिएको छ। यसले इभी प्रयोगकर्तालाई एकै स्थानबाट आवश्यक सेवा प्राप्त गर्न सहज हुने विश्वास गरिएको छ।
कम्पनीका अनुसार सेवा केन्द्रमार्फत काठमाडौं उपत्यकाभित्र पिकअप तथा ड्रप अफ सेवा, द्रुत सर्भिस सुविधा, चौबीसै घण्टा ब्रेकडाउन सहायता तथा समर्पित सर्भिस हटलाइन सेवा पनि उपलब्ध हुनेछ।
नेपालमा विद्युतीय सवारीको प्रयोग तीव्र रूपमा बढिरहेका बेला यस्ता पूर्वाधार विस्तारले इभी प्रयोगकर्तालाई थप सहज र विश्वसनीय सेवा उपलब्ध गराउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।