काठमाडौं। नागरिक लगानी कोषको रिक्त रहेको कार्यकारी निर्देशक पदका लागि सरकारले खुला प्रतिस्पर्धामा पदपूर्तिको प्रक्रिया अघि बढाएको छ। अर्थ मन्त्रालय अन्तर्गतको नागरिक लगानी कोषको कार्यकारी निर्देशक छनोट तथा सिफारिस समितिले बिहीबार सूचना जारी गर्दै आवेदन माग गरेको हो।
आवेदन अर्थ मन्त्रालय, सिंहदरबारस्थित वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा गोप्य सिलबन्दी रूपमा पेस गर्नुपर्ने सूचनामा छ। कार्यकारी निर्देशक पदका लागि आवेदन दिने उम्मेदवारहरू नागरिक लगानी कोष ऐन, २०४७ को दफा ४२(१) बमोजिम योग्यता पुगेको र अनुभव भएको हुनुपर्नेछ।
ऐनमा भएको व्यवस्थाअनुसार अर्थशास्त्र, व्यवस्थापन, वाणिज्यशास्त्र वा कानुन विषयमा स्नातकोत्तर गरेको र आर्थिक व्यवस्थापनको क्षेत्रमा कम्पथिमा १५ वर्ष काम गरेको अनुभव भएको हुनुपर्छ।
पदावधि पाँच वर्षको हुने यो पदमा पछि सरकारले कार्यावधि चार वर्षका लागि थप गरिदिन सक्ने व्यवस्था ऐनमा छ। आवेदन बुझाउन २१ दिनको म्याद छ।
आवेदक अर्थ मन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्ति र मनोनयन सम्बन्धी मापदण्ड, २०७३ को दफा ४ बमोजिम अयोग्य नरहेको हुनुपर्ने पनि सूचनामा छ। आवेदकहरूले शैक्षिक योग्यता, अनुभव, नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, वैयक्तिक विवरण (सीभी), दुई प्रति पासपोर्ट साइजको फोटो र कार्यविधि बमोजिम स्वयं घोषणा विवरणका साथै पाँच हजार शब्दमा नबढ्ने गरी तयार पारिएको व्यावसायिक कार्य योजना पेस गर्नुपर्छ।
छनोट समितिका अनुसार प्रारम्भिक छनोटमा परेका उम्मेदवारहरूले आफ्नो व्यावसायिक कार्य योजनाको प्रस्तुतीकरणका लागि समय पाउनेछन्। दरखास्त दस्तुर बापत ५ हजार रुपैयाँ छ।