काठमाडौं। आगामी दसैंतिहारको नजिकको समय पारेर दुबईबाट सोझै पोखराको उडानमा यात्रा गर्न चाहनेका लागि अब सहज हुने भएको छ। दुबईस्थित निजी वायुसेवा कम्पनी फ्लाई दुबईले आगामी सेप्टेम्बर २३ (असोज ७) देखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित व्यावसायिक उडान सुरु गर्ने भएको हो।
यसका लागि कम्पनीले उडान तालिका सार्वजनिक गरेको छ। जारी तालिका अनुसार दुबई-पोखरा-दुबई रुटमा दैनिक उडान सञ्चालन हुनेछ।
सेप्टेम्बर २३ देखि अक्टोबर २४ सम्म दुबईबाट स्थानीय समयअनुसार दिउँसो १२ बजे उडेको विमान साँझ ६:१५ बजे पोखरा अवतरण गर्नेछ। पोखराबाट साँझ ७:१५ बजे उड्ने विमान राति १०:२० बजे दुबई पुग्ने तालिका छ।
त्यसैगरी, अक्टोबर २५ देखि २०२७ मार्च २७ सम्म लागू हुने शीतकालीन तालिकाअनुसार दुबईबाट दिउँसो १२ बजे उड्ने विमान साँझ ६ बजे पोखरा पुग्नेछ। पोखराबाट साँझ ७ बजे उडान भरेको विमान राति १०:३५ बजे दुबई अवतरण गर्नेछ।
फ्लाई दुबईको नियमित उडानसँगै पोखराबाट मध्यपूर्व तथा अन्य अन्तर्राष्ट्रिय गन्तव्यमा प्रत्यक्ष हवाई पहुँच विस्तार हुने अपेक्षा गरिएको छ। लामो समयदेखि अन्तर्राष्ट्रिय नियमित उडानको प्रतीक्षामा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि यो सेवा महत्त्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।
पर्यटनको प्रमुख गन्तव्य पोखरामा विदेशी पर्यटक आगमन बढाउन तथा नेपाल-यूएईबीचको हवाई सम्पर्कलाई थप मजबुत बनाउन उक्त उडानले योगदान पुर्याउने विश्वास गरिएको छ। साथै, वैदेशिक रोजगारी, व्यापार तथा पर्यटन क्षेत्रलाई समेत यसले सकारात्मक टेवा पुर्याउने अपेक्षा गरिएको छ।