काठमाडौं। अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई निलम्बन गरेको छ। फिफा काउन्सिल ब्युरोले बुधबार फिफा विधानको धारा १६ बमोजिम एन्फालाई अर्को सूचना नआएसम्मका लागि निलम्बन गर्ने निर्णय गरेको हो।
संसारभरका खेलाडी र दर्शकको ध्यान फुटबलको महाकुम्भमा रहेका बेला नेपाली फुटबलको राष्ट्रिय निकायमाथि यो कार्बाही भएको हो। फिफाका महासचिव म्याथियास ग्राफस्ट्रोमद्वारा जारी परिपत्र अनुसार यो निर्णय तत्कालै लागू हुनेछ। निलम्बनसँगै एन्फाले फिफा विधानको धारा १३ मा व्यवस्था गरिए अनुसारका आफ्ना सम्पूर्ण सदस्यता अधिकारहरू गुमाएको छ। अब अर्को सूचना नआएसम्म एन्फाका प्रतिनिधि तथा क्लब टोलीहरूले कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा भाग लिन पाउने छैनन्।
यसका साथै एन्फा, यसका सदस्य वा पदाधिकारीहरू फिफा र एसियाली फुटबल महासंघ (एएफसी) बाट सञ्चालन हुने कुनै पनि विकास कार्यक्रम, शैक्षिक पाठ्यक्रम वा प्रशिक्षणबाट समेत वञ्चित हुने फिफाले स्पष्ट पारेको छ। फिफाले आफ्ना अन्य सदस्य संघहरूलाई पनि निलम्बन अवधिभर एन्फा वा यसका टोलीहरूसँग कुनै पनि खेलकुद सम्पर्कमा नरहन सचेत गराएको छ।
फिफाका अनुसार आगामी फिफा कङ्ग्रेस बस्नुअघि काउन्सिल ब्युरो वा फिफा काउन्सिलले जुनसुकै समयमा पनि यो निलम्बन फुकुवा गर्न सक्नेछ। निलम्बन फुकुवा भएको खण्डमा सदस्य राष्ट्रहरूलाई यथाशीघ्र जानकारी गराइने फिफाले जनाएको छ।