काठमाडौं। ब्राजिल समूह ‘सी’को विजेता बन्दै नकआउट चरणमा पुगेको छ। फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को अन्तिम खेलमा स्कटल्याण्डलाई ३-० ले पराजित गर्दै नकआउट चरणमा स्थान सुरक्षित गरेको छ। आजै हाइटीलाई ४-२ गोलले हराएको मोरोक्को पनि यो समूहको उपविजेता बन्दै नकआउट चरणमा पुगेको छ।
यी दुबै टोलीले समान ७ अंक बनाए पनि ब्राजिल गोलअन्तरमा अघि रहँदै समूह विजेता बनेको हो।
मियामीमा बिहीबार बिहान सम्पन्न खेलमा भिनिसियस जुनियरले दुई तथा म्याथियस कुञ्हाले एक गोल गरे।
ब्राजिलले खेलको सातौँ मिनेटमै अग्रता लिएको थियो। स्कटल्याण्डका रक्षक स्कट म्याकेन्नाको गल्तीको फाइदा उठाउँदै रायानले बल खोसेर भिनिसियसलाई पास दिएपछि उनले गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाए।
२२औँ मिनेटमा भिनिसियसले अर्को गोल गरे पनि भीएआरले फाउल देखाउँदै त्यसलाई मान्यता दिएन। तर पहिलो हाफको इन्जुरी समयमा उनले व्यक्तिगत दोस्रो गोल गर्दै ब्राजिलको अग्रता दोब्बर बनाए। ब्रुनो गुइमाराएसको क्रसमा भिनिसियसले हेडमार्फत जाली चुमाएका थिए।
पहिलो हाफभर स्कटल्याण्ड दबाबमा रह्यो भने ब्राजिलले लगातार अवसर सिर्जना गरिरह्यो। स्कटल्याण्डले गोलतर्फ प्रभावकारी प्रहार गर्न संघर्ष गर्यो।
दोस्रो हाफमा पनि ब्राजिलको नियन्त्रण कायम रह्यो। ६०औँ मिनेटमा गुइमाराएसको पासमा कुञ्हाले सहज फिनिस गर्दै ब्राजिललाई ३-० को सुरक्षित अग्रता दिलाए। त्यसपछि ब्राजिलले खेललाई सहज रूपमा नियन्त्रण गर्दै जित सुनिश्चित गर्यो।
खेलको ७६औँ मिनेटमा स्टार फरवार्ड नेइमार मैदान प्रवेश गरेका थिए। सन् २०२३ अक्टोबरपछि ब्राजिलको पहेँलो जर्सीमा उनको यो पहिलो उपस्थिति थियो।
यो जितसँगै ब्राजिलले समूह चरणमा सात अंक जोड्दै नकआउट यात्रा तय गरेको छ। तीन खेलमा एक जित र दुई हार बेहोरेको स्कटल्याण्ड भने अन्य खेलको नतिजामा भर पर्नुपर्ने कठिन अवस्थामा पुगेको छ। इतिहासमै पहिलो पटक विश्वकपको नकआउट चरण पुग्ने स्कटिस सपना लगभग समाप्त भएको छ। भिनिसियसले प्रतियोगिताको समूह चरणका तीनवटै खेलमा गोल गर्दै उत्कृष्ट लय कायम राखेका छन्।