काठमाडौं। समूह ‘बी’ बाट स्वीजरल्याण्ड समूह विजेता र क्यानडा उपविजेता बन्दै नकआउट चरणमा पुगेका छन्। स्वीजरल्याण्डले क्यानडा र बोस्निया एण्ड हर्जगोभिनाले कतारलाई हराउँदा समूह ‘बी’को विजेता र उपविजेताको टुंगो लागेको हो।
आज सम्पन्न खेलमा स्वीजरल्याण्डले क्यानडालाई २-१ गोलले हराउँदै ७ अंक बनाउँदा क्यानडा ४ अंकमा समेटियो। आजै सम्पन्न अर्को खेलमा बोस्निया एण्ड हर्जगोभिनाले कतारलाई ३-१ गोलले हराउँदै ४ अंक नै बनायो। यस्तोमा हेड-टू-हेडले अघि रहँदै क्यानडा उपविजेताका रुपमा नकआउटमा पुग्दा बोस्नियालाई उत्कृष्ट तेस्रो स्थान हासिल गर्ने टोलीमध्ये एक बन्दै नकआउट चरण पुग्ने समीकरण बलियो छ। त्यस्तै, १ अंकमात्र जोडेको कतारले भने यसपालाको विश्वकप यात्रा टुंगाएको छ।
विश्वकपको सह-आयोजक क्यानडा पहिलो पटक फिफा विश्वकपको नकआउट चरणमा पुगे पनि राउण्ड अफ ३२ को खेल भने घरेलु मैदानमा खेल्न पाउने छैन। समूह विजेता बन्न नसक्दा उसले घरेलु मैदानको फाइदा भने गुमाउने भएको छ।
भ्यानकुभरस्थित बीसी स्टेडियममा बुधबार भएको समूह ‘बी’ को अन्तिम खेलमा स्वीजरल्याण्डसँग २-१ ले पराजित भएपछि क्यानडा समूहको शीर्ष स्थानमा रहन असफल भयो। पहिलो दुई खेलबाट चार अंक जोडेको क्यानडालाई समूह विजेता बन्न बराबरी मात्र पर्याप्त थियो।
पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफको सुरुआतमै स्विट्जरल्यान्डले लगातार दुई गोल गर्दै खेल आफ्नो पक्षमा मोड्यो। रुबेन भार्गास र जोहान मान्जाम्बीले गोल गर्दै स्विस टोलीलाई २-० को अग्रता दिलाए।
७६औँ मिनेटमा प्रोमिस डेभिडले गोल गर्दै क्यानडालाई खेलमा फर्काउने प्रयास गरे पनि घरेलु टोलीले बराबरी गोल निकाल्न सकेन।
अर्कोतर्फ बोस्नियाले कतारलाई ३-१ गोलले हराउँदै पहिलो पटक फिफा विश्वकपको नकआउट चरण पुग्ने सम्भावना बलियो बनाएको छ। समूह ‘बी’ अन्तर्गत भएको अन्तिम खेलमा जित निकालेपछि बोस्निया चार अंकमा पुगेको छ। उसले उत्कृष्ट तेस्रो स्थान हासिल गर्ने टोलीमध्ये एक बन्दै अन्तिम ३२ मा पुग्ने सम्भावनालाई बलियो बनाएको छ।