BIZMANDU
www.bizmandu.com

डिजिटल रास्वपाको पुरानै ढर्रा, महाधिवेशन लम्बेतान, मतदान सुरु गर्नै ‘महाभारत’

२०८३ असार १०

डिजिटल रास्वपाको पुरानै ढर्रा, महाधिवेशन लम्बेतान, मतदान सुरु गर्नै ‘महाभारत’
डिजिटल रास्वपाको पुरानै ढर्रा, महाधिवेशन लम्बेतान, मतदान सुरु गर्नै ‘महाभारत’

चितवन। असार ७ गतेदेखि सुरु भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन अझै केही दिनसम्म चल्ने भएको छ। एक दिन ढिलो गरी मंगलबार बन्दसत्र सुरु भए पनि मतदान भने हुन सकेको छैन।

Tata
GBIME
Nepal Life

देशभरका ४२०० प्रतिनिधि र नेता/कार्यकर्ता चार दिनदेखि चितवनमै छन्। महाधिवेशनको हलमा छिर्नुअघि नै प्रतिनिधिको अन्तिम टुंगो लगाइसक्नुपर्नेमा मतदान सुरु हुनुभन्दा अघिसम्म पनि मतदाताबारे नै यकिन हुन सकेको छैन। प्रतिनिधिको विवाद पटक-पटक भइरहेको छ।

रास्वपाको सभापतिमा रवि लामिछाने मंगलबार नै वरिष्ठ नेता बालेन्द्र शाहको प्रस्तावमा सर्वसम्मत सभापति चयन भइसकेका छन्। पुराना पार्टीभन्दा सबै हिसाबले आफूलाई फरक रूपमा प्रस्तुत गर्न खोजिरहेको रास्वपाको महाधिवेशन नेपाली कांग्रेस, नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीको भन्दा पनि भद्रगोल छ। 

असन्तुष्टिका चाङ

महाधिवेशनमा रास्वपाभित्र असन्तुष्टि चुलिएको छ। प्रतिनिधि सांसद र मन्त्री भएकाहरुलाई फेरि केन्द्रीय सदस्य जिताउन नहुने अडानमा छन्। एक व्यक्ति एक पदको विषय प्रतिनिधिहरूले उठाइरहेका छन्। अर्कोतिर प्रधानमन्त्री बालेन्द्र शाह, विवेकशील साझाबाट आएका नेता तथा रवि लामिछाने समूहका नेताहरूको भागबन्डा मिलाउन सकस परिरहेको छ। पदका लागि रास्वपाभित्र अहिले होडबाजी छ।

सर्वसम्मतको प्रयास भइरहेको भए पनि ९९ केन्द्रीय सदस्यको लागि हुने चुनावमा ३८४ ले उम्मेदवारी दिएका छन्। उम्मेदवार उठ्न कडाइका लागि २१ जना समर्थक चाहिने तथा प्रस्ताव र समर्थक उम्मेदवार बन्न नमिल्ने व्यवस्था रास्वपाले गरेको थियो। त्यसले पनि रास्वपाका नेताहरूमा पदको आकांक्षामा कमी गरेको छैन।

उम्मेदवारको प्रारम्भिक सूची सार्वजनिक भइसके पनि मतदाताबारे यकिन हुन सकेको छैन। मंगलबार साँझ सुरु गर्ने भनिएको मतदान कति समयमा सुरु हुन्छ भन्ने टुंगो नलाग्दा प्रतिनिधि अन्योलमा परेका छन्। प्रतिनिधि चयनको विवादका कारण पनि मतदान हुन सकिरहेको छैन। 

डिजिटल रास्वपाको पुरानै ढर्रा

रास्वपाले आफूलाई प्रविधिमा अब्बल पार्टीको रूपमा स्थापित गर्न खोजिरहेको छ। तर, महाधिवेशन भने परम्परावादी शैली अनुसार भइरहेको छ। ‘फर्म भर्न पनि २/३ घण्टा लाइनमा बस्न पर्छ। देश नै डिजिटल बनाएर चलाउँछु भन्ने पार्टीले महाधिवेशनमा उम्मेदवारी, मतदाताको प्रविधिमार्फत गर्न सक्दैन। हामीले कसरी पत्याउने?,’ एक महाधिवेशन प्रतिनिधिले भने।

विदेशबाट समेत रास्वपाले महाधिवेशनमा भोट हाल्न मिल्ने व्यवस्था गरेको जनाएको छ। लमजुङका एक प्रतिनिधि ओमनबाट आएर महाधिवेशनमा सहभागी भएका थिए। भोलि उनी फर्कनुपर्ने भए पनि रास्वपाको मतदान हुन नसक्दा उनी अप्ठेरोमा परेका छन्। ‘हामी त मतदान भएर समयमै सकिन्छ भन्ने सोचेका थियौं। भोलिको टिकट छ अब के गर्ने?,’ महाधिवेशनप्रति आक्रोश व्यक्त गर्दै उनले भने।

मतदानमै लाग्छ घण्टौं

रास्वपाले विद्युतीय भोटिङ मेसिनमार्फत मतदान गर्ने तयारी गरेको छ। त्यसका लागि ८० वटा मेसिन जडान गरिएका छन्। ४२०० सय प्रतिनिधिले ९९ केन्द्रीय सदस्य पदका लागि ३८४ हाराहारी उम्मेदवारलाई मतदान गर्नुपर्ने छ। एक जनालाई मतदान गर्न करिब २० मिनेट लाग्छ।

‘उम्मेदवारको अन्तिम नामावली आइसकेको छैन। हामीलाई प्राप्त भएपछि त्यसलाई इन्ट्री गर्न करिब २ घण्टा समय चाहिन्छ। त्यसपछि मतदान सुरु हुन्छ। मतदान गर्दा एक मतदातालाई करिब २० मिनेट लाग्ने अनुमान छ,’ राम लक्ष्मण भोटिङ मेसिनका प्राविधिक राम रिमालले भने।

मतदान सुरु भएपछि एक जनालाई २० मिनेट लाग्ने हिसाब अनुसार मतदान सक्न करिब ११ घण्टा लाग्छ। मतदान सकिएको २ घण्टामा रिजल्ट निकाल्न सकिने रास्वपा प्रवक्ता मनिष झाले बताए। रास्वपाले सुरुमा केन्द्रीय सदस्यको मात्रै चुनाव गर्दै छ। त्यसपछि पदाधिकारीको निर्वाचन हुने छ।

आलोचनामा पर्‍यो प्रचार शैली

रास्वपाले अरू दलहरूको चुनावी प्रचारप्रसारलाई लिएर आलोचना गर्ने गरेकोमा आफ्नो महाधिवेशनस्थल बाहिरको दृश्यबाट आफैं आलोचित हुन परेको छ। हलबाहिर प्रतिनिधिहरूले प्रचार प्रसार सामाग्रीहरू जथाभाबी फालेका थिए भने चुनावी प्रचार प्रसारका लागि उम्मेदवारको पक्षमा नाराबाजी गरेका थिए।

आलोचनापछि केपी खनाललगायतका सांसदहरूले प्रचारप्रसारबाट भएको फोहोरलाई सफा गरे। प्रविधिमार्फत महाधिवेशन गर्न चाहेको रास्वपाका लागि पहिलो महाधिवेशन गर्नै सकस परिरहेको छ। आकांक्षी व्यवस्थापनदेखि पार्टीका दस्ताबेजमा समेत रास्वपा अप्ठेरोमा परेको छ।

कोही घर फर्कँदै, कोही आक्रोशित बन्दै

३ दिनका लागि मात्रै चितवन आएको भन्दै केही महाधिवेशन प्रतिनिधि घर फर्किन थालेका छन्। दिनभर महाधिवेशन हलमा नाचगान गरेर समय कटाइरहेका प्रतिनिधि सभापति रवि लामिछाने तथा शीर्ष नेताहरूलाई व्यवस्थित रूपमा महाधिवेशन गर्न नसकेको भन्दै प्रश्न गरिरहेका छन्। आशावादी बनेर महाधिवेशनमा सहभागी भएका नेता/कार्यकर्ताहरू अहिले निरस देखिन थालेका छन्। एमाले-कांग्रेसभन्दा रास्वपाको शैली खासै फरक नदेखिएको उनीहरूको गुनासो छ। शीर्ष नेताहरू पार्टीले चुनाव जितेको ६ महिना नपुग्दै पदको भागबन्डामा लागेको पनि प्रतिनिधिहरूको आरोप छ।

उद्घाटनदेखिकै दिनदेखि रास्वपाको महाधिवेशन लथालिंग देखिएको थियो। महाधिवेशनमा प्रतिनिधि आक्रोशित बनेपछि लामिछानेले मंगलबार नै प्रतिनिधिमार्फत उठाइएको ५००० रुपैयाँ आवश्यक परे फिर्ता गरिने तथा ऐच्छिक बनाइने बताएका थिए। 

रास्वपाका नेताहरूले महाधिवेशन प्रतिनिधिको विरोधलाई कम गर्न पार्टीका तर्फबाट व्यवस्थापनमा कमजोरी भएको भन्दै क्षमा मागिरहेका छन्।

‘व्यवस्थापनमा जुन कमजोरी भयो यसप्रति हामी क्षमा माग्छौं। तर हतारमा महाधिवेशन गरेर पछि अप्ठेरो होस् भन्ने पनि चाहन्नौं,’ झाले भने।

उनले महाधिवेशनमा ढिलाइ भएकै कारण प्रधानमन्त्री बालेन्द्र शाह काठमाडौं फर्किएको बताए। ‘पार्टीका लागि तीन दिन भन्नुभएको थियो। उहाँले देशको चिन्ता गरेर फर्कनुभयो,’ उनले भने।