BIZMANDU
www.bizmandu.com

सामाजिक सुरक्षा कोषले घरजग्गा किन्न डेढ करोडसम्म ऋण दिने, ५० हजार तलबवालालाई ५४ लाख

२०८३ असार १०

सामाजिक सुरक्षा कोषले घरजग्गा किन्न डेढ करोडसम्म ऋण दिने, ५० हजार तलबवालालाई ५४ लाख
सामाजिक सुरक्षा कोषले घरजग्गा किन्न डेढ करोडसम्म ऋण दिने, ५० हजार तलबवालालाई ५४ लाख

काठमाडौं। बैंक तथा वित्तीय संस्थाले मुद्दती निक्षेपको ब्याजदर लगातार घटाइरहेका बेला सामाजिक सुरक्षा कोषका योगदानकर्ता लाभान्वित हुने भएका छन्।

Tata
GBIME
Nepal Life

मुद्दतीमा राखेको रकमको प्रतिफल खुम्चिँदै गएपछि कोषले लगानी रणनीति परिवर्तन गर्दै आफ्नै योगदानकर्तालाई घरजग्गा तथा आवास कर्जा प्रवाह बढाउने नीति अघि सारेको छ।

कोषले योगदानकर्ताको आम्दानी र योगदान अवधिका आधारमा कर्जा सीमा निर्धारण गरेको छ। बैंक तथा वित्तीय संस्थाले अधिक तरलताका कारण मुद्दतीमा पैसा राख्न अस्वीकार गर्न थालेपछि कोषले आफ्नै योगदानकर्तामा लगानी विस्तार गर्ने रणनीति लिएको हो।

घरजग्गा तथा आवास कर्जाअन्तर्गत कोषले घर तथा घडेरी खरिदका लागि अधिकतम डेढ करोड रुपैयाँसम्म कर्जा दिने व्यवस्था गरेको छ।

हालसम्म कोषको अधिकांश लगानी बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा छ। न्यून ब्याजदरका कारण प्रतिफल भने घट्दै गएको छ।

त्यसैले कोषले योगदानकर्तालाई घरजग्गा खरिद, घर निर्माण र शैक्षिक क्षेत्रमा कर्जा उपलब्ध गराएर प्रत्यक्ष लगानी बढाउने रणनीति लिएको छ।

कोषका प्रवक्ता कृष्ण अधिकारीले योगदानकर्तालाई लक्षित गर्दै घरजग्गा कर्जाको सीमा डेढ करोड रुपैयाँ पुर्‍याएको जानकारी दिए। उनका अनुसार कोषले अब मुद्दती निक्षेपको हिस्सा घटाउँदै योगदानकर्तामा लगानी बढाउन लागेको छ।

‘अहिले हाम्रो लगानीको ठूलो हिस्सा बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा छ। तर अधिक तरलताका कारण मुद्दतीको प्रतिफल घटेको छ। त्यसैले लगानीलाई विविधिकरण गर्दै योगदानकर्तामा केन्द्रित गरिरहेका छौं,’ अधिकारीले बिजमाण्डूसँग भने।

कसरी लिने ?

कोषले योगदानकर्तालाई उपलब्ध गराउने घरजग्गा कर्जाको सीमा बढाउँदै अधिकतम डेढ करोड पुर्‍याए पनि सबै योगदानकर्ताले पाउँदैनन्।

उच्च आम्दानी भएका तथा कर्जा तिर्न सक्ने क्षमता भएका योगदानकर्ता मात्रै ठूलो सीमाको कर्जाका लागि योग्य हुन्छन्। कर्जा स्वीकृत गर्दा योगदानकर्ताको आम्दानी, योगदान अवधि, परिवारको आम्दानी र धितो मूल्यांकनलाई मुख्य आधार बनाइने कोषले जनाएको छ।

करक्जा लिन योगदानकर्ताले कम्तीमा १८ महिना योगदान गरेको हुनु पर्नेछ। यसअघि कर्जा लिनका लागि ३६ महिना योगदान गर्नुपर्ने प्रावधान थियो। कर्जा पहुँच सहज बनाउने उद्देश्यले कोषले योगदान अवधि घटाएको हो।

५० हजार तलब हुनेले झन्डै ५४ लाखसम्म कर्जा पाउने

कर्जा निर्धारण गर्दा योगदानकर्ताको वार्षिक आम्दानीलाई मुख्य आधार बनाइएको छ। उदाहरणका लागि, कुनै योगदानकर्ताको मासिक आम्दानी ५० हजार रुपैयाँ भए उसले करिब ५४ लाख रुपैयाँसम्म कर्जा लिन सक्छ।

त्यस्तै, कर्जा क्षमताको मूल्यांकन गर्दा योगदानकर्ताको परिवारको करयोग्य आम्दानीलाई समेत समावेश गर्न सकिने व्यवस्था छ। यसले परिवारको संयुक्त आम्दानी भएका योगदानकर्तालाई ठूलो रकमको कर्जा लिन सहज बनाउने छ।

घर निर्माण कर्जामा धितो मूल्यांकन (लोन टू भ्यालु रेसियो)को अधिकतम ७० प्रतिशतसम्म कर्जा उपलब्ध गराउने व्यवस्था छ। त्यसैगरी घडेरी खरिद कर्जामा यस्तो सीमा ६० प्रतिशतसम्म कायम गरिएको छ।

कोषबाट कर्जा लिएर खरिद गरिने घरजग्गा भने मोटरेबल बाटोले छोएको, खरिद-बिक्री गर्न सकिने र कानुनी रूपमा स्पष्ट भएको हुनुपर्नेछ। कर्जा लिँदा सेवा शुल्क ०.१५ प्रतिशत लाग्नेछ। धितो मूल्यांकनकर्ताको खर्च ५ हजार रुपैयाँ (भ्याट बाहेक)को शुल्क पनि योगदानकर्ताले नै व्यहोर्नुपर्ने व्यवस्था छ।

वैदेशिक रोजगारीमा रहेकाहरुको चासो

वैदेशिक रोजगारीमा रहेका करिब २२ लाख नेपाली कोषमा जोडिएका छन्। रोजगारदातामार्फत आबद्ध हुने योगदानकर्ताको संख्या करिब ७ लाख छ।

पछिल्लो समय वैदेशिक रोजगारीमा रहेका योगदानकर्ताले कोषबाट कर्जा लिनका लागि चासो देखाउन थालेका छन्। ‘विदेशमा रहेका नेपालीले घरजग्गा खरिद र घर निर्माणका लागि कर्जा लिने प्रक्रिया र कर्जाको सीमाबारे सोधखोज बढाएका छन्,’ अधिकारीले भने।

३० देखि ६० लाखसम्म कर्जाको माग बढी

कोषका अनुसार हाल सबैभन्दा धेरै ३० लाखदेखि ६० लाख रुपैयाँसम्मको कर्जाको माग धेरै देखिएको छ। पछिल्लो समय एक करोड रुपैयाँभन्दा माथिको कर्जाको माग पनि आउन थालेको छ।

विशेषगरी स्थायी आम्दानी भएका तथा लामो समयदेखि योगदान गर्दै आएकाहरूले ठूलो सीमाको कर्जामा रुचि देखाएका छन्।

कुनै योगदानकर्ताले कोषमा योगदान गर्न छोडेमा कर्जा ६ वर्षभित्र चुक्ता गरिसक्नु पर्नेछ। यसले कोषको जोखिम व्यवस्थापन गर्न सहयोग गर्ने अपेक्षा गरिएको छ।

कोषको लगानी कहाँ कति?

कोषमा हालसम्म कुल योगदान रकम १ खर्ब १३ अर्ब ९४ करोड रुपैयाँ पुगेको छ। कोषको कुल लगानीमध्ये सबैभन्दा ठूलो हिस्सा मुद्दती निक्षेपमा छ। कोषले आफ्नो कुल लगानीको ५०.३६ प्रतिशत रकम बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा राखेको छ।

त्यस्तै, २०.३५ प्रतिशत रकम नेपाल राष्ट्र बैंकको बन्डमा, ६.५० प्रतिशत विकास ऋणपत्रमा, ३ प्रतिशत विभिन्न ऋणपत्रमा र करिब १ प्रतिशत रकम म्युचुअल फन्डमा लगानी गरिएको छ।

हाल योगदानकर्तालाई दिइएको प्रत्यक्ष कर्जा कुल लगानीको ६.७८ प्रतिशत मात्रै छ। आगामी दिनमा यसलाई बढाएर १५ प्रतिशत पुर्‍याउने कोषको लक्ष्य छ।