BIZMANDU
www.bizmandu.com

मौद्रिक नीतिमा सीएनआईले दियो सुझाव, ‘लगानीकर्ताको आत्मविश्वास उकास्ने कार्यक्रम चाहियो’

२०८३ असार १०

मौद्रिक नीतिमा सीएनआईले दियो सुझाव, ‘लगानीकर्ताको आत्मविश्वास उकास्ने कार्यक्रम चाहियो’
मौद्रिक नीतिमा सीएनआईले दियो सुझाव, ‘लगानीकर्ताको आत्मविश्वास उकास्ने कार्यक्रम चाहियो’

काठमाडौं। नेपाल उद्योग परिसंघ (सीएनआई)ले बजारमा माग बढाउने गरी मौद्रिक नीति ल्याउन आग्रह गरेको छ।

Tata
GBIME
Nepal Life

सीएनआईले बजार माग न्यून रहेका कारण आर्थिक गतिविधि शिथिल भएको भन्दै मौद्रिक नीतिमा अर्थतन्त्र चलायमान व्यवस्था गर्न आग्रह गरेको हो।

सीएनआईका अध्यक्ष वीरेन्द्रराज पाण्डेले गभर्नर डा. विश्व पौडेललाई भेटेर आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा समावेश गर्नुपर्ने सुझाव बुझाएका छन्।

सीएनआईले बाह्य क्षेत्रका समष्टिगत सूचक उत्साहजनक रहे पनि आन्तरिक आर्थिक गतिविधि लामो समयदेखि लय विमुख रहेको अवस्थालाई ध्यानमा राखेर मौद्रिक नीति ल्याउन आग्रह गरेको छ। सीएनआईको सुझावपत्रमा मौद्रिक नीतिगत अभ्यासमा सुधार गर्न र राष्ट्र बैंकको संरचनागत सुधार अगाडि बढाउन पनि आग्रह गरिएको छ।

सीएनआईले निर्देशित कर्जाको सीमा चरणबद्ध रूपमा प्रतिशतका आधारमा घटाउन, कार्यशील पुँजी सम्बन्धी मार्गदर्शन क्षेत्रगत आधारमा लागू गर्न र ब्याजदर निर्धारण प्रणालीलाई आधुनिकीकरण गर्न सुझाव दिएको छ।

यस्तै धितोयुक्त कर्जाको वर्गीकरण तथा कालोसूचीको समयसीमा विस्तार गर्न, सरकारको इन्टरप्राइज फ्यासिलिटीसँग आबद्ध स्टार्टअपका लागि विशेष कर्जा सुविधा स्थापना गर्न र राष्ट्र बैंकभित्र अधिकारसम्पन्न मौद्रिक नीति समिति गठन गर्न पनि सीएनआईले सुझाव दिएको छ।

अध्यक्ष पाण्डेले गभर्नरसामु बजार माग र लगानीकर्ताको आत्मविश्वास उकास्ने तथा अर्थतन्त्रको पुनरुत्थानमा
सहयोग पुग्ने मौद्रिक नीतिको अपेक्षा गरेको बताएको सीएनआईले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।

गभर्नर पौडेलले मौद्रिक नीति मुख्यतः ब्याजदर र वित्तीय स्थायित्व सुनिश्चित गर्नतर्फ केन्द्रित हुने बताएका छन्। उनले निजी क्षेत्र नै अर्थतन्त्रको प्रमुख चालक भएकाले लगानी विस्तारमा सहजीकरण गर्नुपर्ने आग्रहलाई गम्भीर रुपमा लिएको बताए।

सुझावपत्र बुझाउन पाण्डेसँगै सीएनआईका पूर्वअध्यक्ष हरिभक्त शर्मा, गभर्निङ काउन्सिल सदस्य शशिकान्त अग्रवाल, बैंक तथा वित्तीय समिति सभापति वरुण कुमार तोदीलगायत राष्ट्र बैंक पुगेका थिए।