चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनअन्तर्गत चुनावको प्रक्रिया लम्बिएको छ।
९९ केन्द्रीय सदस्य चयन गर्न हुन लागेको निर्वाचनका लागि परेको मनोनयनको नामावली सार्वजनिक हुन सकेको छैन। दोहोरिएका नामहरूको यकिन गर्ने काम भइरहेकाले निर्वाचनको प्रक्रिया लम्बिएको महामन्त्री कवीन्द्र बुर्लाकोटीले बताए।
‘केन्द्रीय सदस्यमा ३७० भन्दा धेरै उम्मेदवारी परेको छ। केहीमा डुप्लिकेसन पनि भएको रहेछ। डुप्लिकेसन हटाउने काम चलिरहेको छ। दाबी विरोधको काम चलिरहेको छ। इभिएमका लागि डाटा इन्ट्रीको काम पनि सँगसँगै चलिरहेको छ,’ उनले भने।
८० वटा विद्युतीय भोटिङ मेसिन मार्फत मतदान गर्ने तयारी छ। प्रतिनिधिले कार्ड नपाएको तथा प्रतिनिधिमा नामै छुटेको विषयमा पनि समस्या देखिएको छ। जसकारण महाधिवेशनमा मतदान सुरु हुन सकेको छैन।
मतदान गर्न एक जना प्रतिनिधिलाई १० मिनेटसम्म समय लाग्ने अनुमान छ। ४२०० प्रतिनिधिले मतदान गर्नेछन्। २ घण्टा मत गणनामा लाग्ने अनुमान छ भने सबै प्रतिनिधिले मतदान गर्न ६/७ घण्टा लाग्ने देखिन्छ।
७ गते सुरु भएको महाधिवेशन ९ गते सक्ने भनिएको थियो। तर, १० गते भइसक्दा पनि मतदान सुरु नभएपछि अझैं केही दिन लम्बिने देखिएको छ।