काठमाडौं। देशका ११ जिल्लाका ८२ स्थानमा बर्ड फ्लु संक्रमण पुष्टि भएको छ। पशु सेवा विभागका अनुसार चैत ४ गते मोरङमा पहिलो पटक संक्रमण देखिएपछि झापा, सुनसरी, महोत्तरी, बारा, चितवन, नवलपरासी, काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रेपलाञ्चोकसम्म फैलिएको हो।
बर्ड फ्लु पन्छीमा लाग्ने अत्यन्त संक्रामक र उच्च मृत्युदर भएको रोग हो। संक्रमण नियन्त्रणका लागि विभागले संघ, प्रदेश र स्थानीय तहसँग समन्वय गर्दै आवश्यक जनशक्ति परिचालन गरिरहेको जनाएको छ।
संक्रमण नियन्त्रणका क्रममा देशभर करिब ५ लाख ६९ हजार ८५८ वटा पन्छी नष्ट गरिएको छ। साथै ९ लाख ८९ हजार ३१३ वटा अण्डा र १ लाख ९५ हजार ४८५ केजी दाना पनि नष्ट गरिएको विभागले जनाएको छ।
संक्रमित क्षेत्रमा पन्छीको ओसारपसारमा रोक लगाइएको छ। पशु क्वारेन्टाइन कार्यालयहरूमा उच्च सतर्कता अपनाइएको छ भने अवैध रूपमा भित्र्याइएका शंकास्पद पन्छीहरू समेत नष्ट गरिएको छ।
रोगको छिटो पहिचान र परीक्षणका लागि केन्द्रीय तथा क्षेत्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालाहरू सक्रिय रूपमा परिचालित छन्।
विभागका अनुसार कोशी प्रदेशमा बर्ड फ्लु पूर्ण रूपमा नियन्त्रणमा आइसकेको छ। तर, काठमाडौं उपत्यकाका विभिन्न स्थानमा संक्रमण देखिने क्रम बढिरहेको छ।
पन्छीको अस्वाभाविक रूपमा मृत्यु हुन थालेमा तत्काल जानकारी दिन विभागले आग्रह गरेको छ। संक्रमित वा मरेका पन्छीलाई गहिरो खाडलमा पुरेर फार्मलाई निसंक्रमण गर्न र प्राविधिकको सल्लाहअनुसार आवश्यक नियन्त्रण उपाय अपनाउन पनि अनुरोध गरिएको छ।
