काठमाडौं। चालु आर्थिक वर्ष सकिन तीन साता मात्र बाँकी रहँदा पुँजीगत बजेट अहिलेसम्म जम्मा १ खर्ब ३८ अर्ब ४० करोड मात्र खर्च भएको छ।
वर्ष सकिनै लाग्दा पुँजीगत बजेट विनियोजित रकमको ३४ प्रतिशतमात्रै खर्च भएको हो। सरकारले चालु आवका लागि ४ खर्ब ७ अर्ब रुपैयाँ पुँजीगत बजेट विनियोजन गरेकामा अब २ खर्ब ७० अर्ब रुपैयाँ खर्च गर्न बाँकी छ।
चालु वर्ष पुँजीगत बजेट पोहोरको तुलनामा ९ प्रतिशत विन्दु कम खर्च भएको छ। पोहोर असार ९ गतेसम्म विकास बजेट ४३ प्रतिशत खर्च भएको थियो।
चालु आवमा असार लागेपछि पनि विकास बजेट खासै खर्च भएको छैन छैन। जेठ मसान्तसम्म १ खर्ब ३२ अर्ब ६६ लाख खर्च भएकामा त्यसयता ६ अर्ब खर्च भएको महालेखा नियन्त्रकको तथ्यांक छ। त्यसमध्ये १ अर्ब ५ करोड मंगलबार खर्च भएको हो।
विनियोजित बजेट खर्च गर्न दैनिक १२ अर्बभन्दा धेरै खर्च गर्नुपर्छ।
गत आवमा पुँजीगत बजेट ६३ प्रतिशत खर्च भएको थियो। यो आवमा पनि सोही बराबर हुनका लागि २ खर्ब ५६ अर्ब खर्च हुनुपर्छ। त्यसका लागि अबको ३ हप्तामा १ खर्ब १८ अर्ब अर्थात् दैनिक ५ अर्ब ६२ करोड खर्च हुनुपर्ने हुन्छ।
त्यसो त तत्कालीन अर्थमन्त्री रामेश्वर खनालले गत माघमा अर्धवार्षिक समीक्षामार्फत पुँजीगत बजेट २ खर्ब ४३ अर्बमात्रै खर्च हुने अनुमान सार्वजनिक गरेका थिए। संशोधित लक्ष्यअनुसार खर्च हुन पनि दैनिक ५ अर्बभन्दा बढी खर्च हुन जरुरी छ।
अर्थ मन्त्रालयले वर्षको अन्तिममा भुक्तानीको चाप बढ्ने भएकाले अबका दिनमा पुँजीगत खर्च बढ्ने बताएको छ।‘पहिले काम भएका धेरैको भुक्तानी पनि अन्तिम समयमा हुने भएकाले अबका दिनमा खर्चको ग्राफ अलि बढी नै हुनेछ,’ मन्त्रालयका प्रवक्ता अमृत लम्सालले भने।
पुँजीगत बजेट न्यून खर्च भए पनि चालु र वित्तीय व्यवस्थातर्फ भने लक्ष्य नजिक पुगेको छ। चालुतर्फ ७५ प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ ७८ प्रतिशत बजेट खर्च भएको छ।