BIZMANDU
www.bizmandu.com

बालेनले ब्राण्डिङ गरिदिएपछि डीडीसीमा सकियो चिजको स्टक, किसानको बक्यौता भने ज्युँकात्युँ

२०८३ असार ९

बालेनले ब्राण्डिङ गरिदिएपछि डीडीसीमा सकियो चिजको स्टक, किसानको बक्यौता भने ज्युँकात्युँ
बालेनले ब्राण्डिङ गरिदिएपछि डीडीसीमा सकियो चिजको स्टक, किसानको बक्यौता भने ज्युँकात्युँ

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन उद्‍घाटनका दिन असार ७ गते भरतपुरस्थित गेस्ट हाउस चौरमा राखिएको दुग्ध विकास संस्थान (डीडीसी)को बिक्री कक्षमा ग्राहकको भिड लाग्यो।

Tata
GBIME
Nepal Life

डीडीसीले रास्वपाका कार्यकर्तालाई आकर्षित गर्न प्रधानमन्त्री बालेन्द्र शाहले चिज खाँदै गरेको तस्वीर पनि बिक्री कक्षसँगै राखेको थियो।

त्यसदिन रास्वपाको महाधिवेशनस्थलमा डीडीसीले दही र मोही मात्र सवा ३ लाख रुपैयाँ हाराहारीको बेच्यो।

प्रधानमन्त्री बालेन सामाजिक सञ्जालमा राखेको एउटा तस्वीरका कारण डीडीसीको व्यापार एकाएक बढेको छ।

दूग्धजन्य उत्पादन बिक्री नभएका कारण किसानको पैसा भुक्तानी गर्न नसकेको बताउँदै आएको डीडीसीले २० दिनमै याकको चिजको स्टक सकाएको छ। डीडीसीका अन्य उत्पादनको बिक्री पनि बढेको छ।

कम्पनीका सूचना अधिकारी निलकण्ठ गौतमले सबैजसो उत्पादनको बिक्री बढेको र याकको चिजको स्टक सकिएको जानकारी दिए।

‘प्रधानमन्त्रीज्यूले प्रचार गरेका कारण हाम्रा उत्पादनको व्यापार बढेको छ। याकको चिजको स्टक सकिएको छ। नयाँ उत्पादन आउने जाने भइरहेको छ,’ गौतमले भने, ‘यतिबेला बजारमा फ्रेस चिज गइरहेको छ। याक चिजको व्यापार २५ प्रतिशतसम्म बढेको छ।’

बालेनले एक महिनाअघि डीडीसीको चिजसहितको तस्वीर फेसबुकमा राखेका थिए। त्यसयता डीडीसीले स्टकमा रहेको करिब ४५०० केजी चिज बिक्री गरेको हो।

डीडीसीले याकको चिज मासिक ५ हजार केजी र त्यति नै परिमाणमा कन्चन चिज उत्पादन गर्ने गरेको छ। कम्पनीले १०० ग्रामदेखि एक केजीसम्मको प्याकेजिङमा चिज उत्पादन गर्ने गरेकामा माग बढेपछि डीडीसीले याकको चिजको मूल्य प्रति केजी ३०० रुपैयाँ बढाएको छ।

यसअघि प्रति किलो १८०० रुपैयाँ रहेकामा अब २१०० पुर्‍याइएको छ। ‘याकको चिजको माग धेरै नै आएका कारण हामीले मूल्य बढाएका हौं,’ गौतमले भने।

याकको चिजबाहेक डीडीसीको दही, मोही र आइसक्रिमको माग पनि बढेको छ। व्यापार बढे पनि डीडीसीले किसानको बक्यौता भने घटाउन सकेको छैन। कम्पनीले किसानलाई तीन महिनादेखि दूधको पैसा भुक्तानी दिएको छैन। बक्यौता करिब ६० करोड हाराहारी छ।

किसानले पहिले १५ दिनमा भुक्तानी पाउने गरेका थिए। केही वर्षयता पाउडर दुध, बटर लगायत उत्पादन स्टक बस्न थालेका कारण समयमा पैसा दिन सकिएन। अहिले पनि तीन महिनाको बक्यौता छ,’ गौतमले भने, ‘स्टक क्लियर हुँदै जाँदा भुक्तानी गर्न सहज हुन्छ।’

अहिले अफसिजन भएकाले डीडीसीले कच्चा दूध सामान्य अवस्थामा भन्दा आधा संकलन गरिरहेको छ। कम्पनीले अहिले दैनिक ६० देखि ६५ हजार लिटर दूध बिक्री गर्ने गरेको छ। कम्पनीसँग करिब ३०० टन पाण्डर दूध र २०० टन बटर स्टक छ।