काठमाडौं। प्रतिनिधिको विवादका कारण सोमबार बस्दै नबसी स्थगित भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशन अन्तर्गत बन्द सत्र अपराह्न २ बजे सुरु हुने भएको छ।
रास्वाले बन्दसत्रको नयाँ तालिका सार्वजनिक गरेको छ। तालिका अनुसार सुरुमा पार्टी सभापति रवि लामिछानेले १० मिनेट बोल्नेछन्। त्यसपछि अनुशासन आयोगको प्रतिवेदन प्रस्तुति र छलफलको तालिका छ। यसका लागि २० मिनेट छुट्याइएको छ।
त्यसपछि कोषाध्यक्ष लिमा अधिकारीले वित्तीय प्रतिवेदन प्रस्तुत गर्ने तालिका छ। प्रतिवेदन प्रस्तुति र छलफलका लागि ३० मिनेट छुट्याइएको छ। महामन्त्री कविन्द्र बुर्लाकोटीले संगठनात्मक प्रतिवेदन पेस गर्ने छन्। यसका लागि ४५ मिनेट छुट्याइएको छ। त्यो समयमा प्रतिवेदनमाथि छलफल समेत गर्ने भनिएको छ।
सहमहामन्त्री विपिन आचार्यले विधान संशोधन प्रस्ताव पेस गर्नेछन्। संशोधन प्रस्ताव पेस गरी पारित गर्न एक घण्टा राखिएको छ।
त्यसपछि उपसभापति डा. स्वर्णिम वाग्लेले पार्टीको अर्थ राजनीतिक प्रस्तावना पेस गर्नेछन्। सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदन पेस गर्नेछन्। राजनीतिक प्रतिवेदनका लागि १ घण्टा २० मिनेट छुट्याइएको छ।