काठमाडौं। सिन्धुपाल्चोकमा प्रहरीले २ करोड ६९ लाख ५० हजार रुपैयाँ बराबरको भेप (विद्युतीय चुरोट) सहित एक जनालाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार बाह्रबिसे-३ खाग्दलस्थित तातोपानी-बाह्रबिसे सडक खण्डमा विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले सोमबार ७ हजार ७ सय थान विभिन्न ब्रान्डका भेप बरामद गरेको हो। प्रदेश ०३-०१-०२४ च ९२१९ नम्बरको बोलेरो गाडी भेप लुकाइछिपाइ लिएर तातोपानीबाट बाह्रबिसेतर्फ आउँदै थियो।
भेप भेटिएपछि गाडीचालक सिन्धुपाल्चोक जुगल-४ का ३६ वर्षीय रामकुमार श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेका व्यक्ति, बरामद भेप र बोलेरो गाडीलाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि तातोपानी भन्सार कार्यालय सिन्धुपाल्चोकमा बुझाइएको सिन्धुपाल्चोकका डीएसपी जेसी शाहले बताए।