काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनमा देखिएको प्रतिनिधि विवाद टुंगिएको छ। महाधिवेशन प्रतिनिधि विवाद बढ्दै जाँदा सोमबार बन्दसत्र सुरु नै हुन सकेको थिएन।
रास्वपाको संस्थापन पक्षसँगै प्रधानमन्त्री बालेन्द्र शाह पक्ष, थरुहट पक्ष, सुदन गुरुङ पक्ष र विवेकशील साझा पक्ष सबैलाई महाधिवेशन प्रतिनिधिमा समेट्न पर्ने माग पार्टीमा देखिएको थियो।
निरन्तर छलफल पछि महाधिवेशन प्रतिनिधिको विवाद टुंगिएको रास्वपा नेतृ लिमा अधिकारीले जानकारी दिइन्।
उनका अनुसार अब ४ हजार २०० हाराहारीमा प्रतिनिधि हुनेछन्।
‘अब प्रतिनिधिको कार्ड बाँड्न १/२ घण्टा लाग्ला त्यसपछि बन्द सत्र सुरु हुन्छ,’ लिमा अधिकारीले भनिन्।
यसअघि महाधिवेशनमा तीन हजार ९१८ प्रतिनिधि हुने भनिएको थियो। त्यसमा ३०० प्रतिनिधि रास्वपाका दुई महामन्त्रीलाई मनोनयनको जिम्मेवारी प्रदान गरिएको थियो। रास्वपाले पार्टी सदस्य पाँच लाख पुर्याएको छ।