काठमाडौं। ठेक्का सम्झौताका सर्तअनुसार काम नगरेका भरतपुरको लोहनी एण्ड ब्रदर्ससहित चारवटा निर्माण एवम् आपूर्तिकर्ता कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेको छ। मंगलबार सूचना जारी गर्दै बढीमा दुई वर्षका लागि कालोसूचीमा राखिएको जनाएको हो।
संघीय शहरी विकास तथा भवन निर्माण कार्यालय धनुषाको ठेक्कामा काम नगर्ने भक्तपुर चाँगुनारायणको प्रियान्सी कन्स्ट्रक्सनलाई एक वर्षको कार्बाही गरिएको छ। अरु कम्पनी २/२ वर्षको कार्बाहीमा परेका छन्।
हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय वीरगंजको सिफारिसमा लोहनी एण्ड ब्रदर्स कार्बाहीमा परेको छ। यस्तै सुदूरपश्चिममा हुलाकी राजमार्गकै ठेक्कामा सर्तअनुसार काम नगर्दा अर्को कम्पनी कार्बाहीमा परेको छ। कार्बाहीमा पर्नेमा बाबा हंस सिद्धिसाई जेभी छ। उक्त जेभीले हुलाकी राजमार्ग आयोजनाअन्तर्गत कञ्चनपुरको बेलौरीदेखि बेल्डाँडीसम्मको सडक खण्ड निर्माणको ठेक्का पाएको थियो। हुलाकी राजमार्ग योजना कार्यालय धनगढीले उक्त जेभीलाई कार्बाहीका लागि सार्वजनिक खरिद अनुगमनमा लेखिपठाएको हो।
यस्तै सडक डिभिजन भक्तपुरको सिफारिसमा गौरी पार्वती निर्माण सेवा कालोसूचीमा परेको छ। कार्बाही अवधिभर सम्बद्ध कम्पनीहरुले सार्वजनिक खरिदका कुनै पनि प्रक्रियामा भाग लिन पाउँदैनन्।