BIZMANDU
www.bizmandu.com

प्रतिकूल मौसमले फ्रान्स र इराकको दोस्रो हाफ रोकियो, एम्बाप्पेले दिलाएका थिए अग्रता

२०८३ असार ९

प्रतिकूल मौसमले फ्रान्स र इराकको दोस्रो हाफ रोकियो, एम्बाप्पेले दिलाएका थिए अग्रता
प्रतिकूल मौसमले फ्रान्स र इराकको दोस्रो हाफ रोकियो, एम्बाप्पेले दिलाएका थिए अग्रता

काठमाडौं। फिफा विश्वकप फुटबल समूह ‘आई’ मा फ्रान्स र इराकबीच भइरहेको खेल चट्याङसहितको आँधीका कारण बीचमै रोकिएको छ। किलियन एम्बाप्पेको गोलमा फ्रान्सले पहिलो हाफमा अग्रता बनाए पनि दोस्रो हाफ सुरु हुन नसकेको हो।

Tata
GBIME
Nepal Life

खेलको पहिलो हाफ सकिएपछि फिलाडेल्फियास्थित रंगशालामा रहेका दर्शकलाई सुरक्षित स्थानमा जान निर्देशन दिइएको थियो। रंगशालाको ठूलो स्क्रिनमा ‘गम्भीर आँधी नजिकिँदै छ’ भन्ने सन्देश देखाइएको थियो भने आयोजकले सबैलाई सुरक्षितस्थलमा जान आग्रह गरेका थिए।

यो विश्वकपको हालसम्मकै पहिलो वर्षाका कारण भएको खेल अवरोध हो। अमेरिकाकै न्यु जर्सीस्थित इस्ट रदरफोर्डमा हुने नर्वे र सेनेगलबीचको खेलअघि पनि भारी वर्षा भएको छ। यो खेल पनि प्रभावित हुन सक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यम हरुले जनाएका छन्।

नेपालमा प्रत्यक्ष प्रसारण गरिरहेको हिमालयन स्पोर्ट्सले भने मौसमका कारण फ्रान्स र इराकबीचको खेलको समयसँग नर्वे र सेनेगलको खेलसमय जुधेको खण्डमा नर्वे र सेनेगलको खेल हिमालयन टिभीमा तथा फ्रान्स र इराकबीचको खेल हिमालयन स्पोर्ट्स च्यानलमै आउने जनाएको छ।

फिफाको नियमअनुसार रंगशालाबाट आठ माइल भित्र चट्याङ देखिएमा खेल तत्काल रोक्नुपर्छ र दर्शकलाई कम्तीमा ३० मिनेटका लागि सुरक्षित स्थानमा सार्नुपर्छ। यदि फेरि चट्याङ खस्यो भने उक्त समय पुनः शून्यबाट गणना गरिन्छ।

खेलको ३७औं मिनेटदेखि नै भारी वर्षा सुरु भएको थियो। धेरैजसो दर्शकले रेनकोट लगाएर खेल हेर्न जारी राखे पनि हाफटाइमपछि उनीहरूलाई सुरक्षित स्थानमा जान भनिएको थियो। केही दर्शक सुरुमा आफ्नै सिटमा बसेका थिए।  पछि उनीहरू पनि सुरक्षित स्थानतर्फ लागेका थिए।

खेल रोकिँदासम्म फ्रान्सले १-० को अग्रता बनाएको छ। टोलीका कप्तान किलियन एम्बाप्पेले पेनाल्टी क्षेत्रबाहिरबाट गरेको शानदार बायाँ खुट्टाको प्रहार गोलमा परिणत भएपछि फ्रान्सले पहिलो हाफमा अग्रता लिएको थिए।