काठमाडौं। विश्वकपको साविक विजेता अर्जेन्टिनाले अस्ट्रियालाई हराएको छ। कप्तान लियोनेल मेसीको दोहोरो गोलको सहायतामा फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जे’को खेलमा अर्जेन्टिनाले अस्ट्रियालाई २-० गोलले हराएको हो।
डलास स्टेडियममा सोमबार राति भएको खेलमा मेसीले पहिलो हाफमा पेनाल्टी गुमाए पनि त्यसपछि दुई गोल गर्दै टोलीलाई सहज जित दिलाए।
अर्जेन्टिनी कप्तानले अस्ट्रियालाई हराउने क्रममा दुई फरक कीर्तिमान बनाएका छन्। जारी २०२६ फिफा विश्वकपअन्तर्गत अस्ट्रियाविरुद्धको खेलमा अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीले फुटबल इतिहासमै एउटा दुर्लभ र अनौठो संयोगको कीर्तिमान आफ्नो नाममा गरेका हुन्। टोलीलाई जित दिलाउने क्रममा गोल गर्दै मेस्सी पुरुष विश्वकप इतिहासकै सर्वाधिक गोलकर्तासँगै विश्वकपमा सबैभन्दा बढी पेनाल्टी मिस गर्ने खेलाडीको सूचीमा पनि उनी शीर्ष स्थानमा पुगेका छन्।
अस्ट्रियाविरुद्ध मैदान उत्रिँदै गर्दा मेस्सीको नाममा १६ गोल थियो। खेलका क्रममा उत्कृष्ट गोल गर्दै मेस्सीले आफ्नो विश्वकप करियरको १७ र १८ औं गोल पूरा गरे। यससँगै उनले जर्मनीका पूर्व स्ट्राइकर मिरोस्लाभ क्लोसको १६ गोलको ऐतिहासिक कीर्तिमानलाई भंग गर्दै विश्वकपकै सर्वकालीन शीर्ष गोलकर्ता बनेका हुन्।
इतिहासकै शीर्ष गोलकर्ता बन्नु अघि नै आजै मेस्सीले एउटा खराब कीर्तिमान पनि बनाए। अर्जेन्टिनाले सातौँ मिनेटमा पाएको पेनाल्टीको अवसरलाई मेस्सीले सदुपयोग गर्न सकेनन् र उनको प्रहार गोलपोस्टभन्दा बाहिर गएको थियो।
यो मिससँगै मेस्सी फिफा विश्वकपको इतिहासमा (पेनाल्टी सुटआउट बाहेक निर्धारित समयमा) सबैभन्दा बढी पेनाल्टी मिस गर्ने खेलाडी बनेका छन्। मेस्सीले यसअघि सन् २०१८ को विश्वकपमा आइसल्याण्ड र २०२२ को विश्वकपमा पोल्याण्डविरुद्ध पनि पेनाल्टी चुकेएका थिए।
खेलको सातौँ मिनेटमै अर्जेन्टिनाले पेनाल्टीको अवसर पाएको थियो। भिडियो सहायक रेफ्री (भिएआर) ले लउटारो मार्टिनेजमाथि स्टेफान पोशले फउल गरेको ठहर गर्दा रेफ्रीले अर्जेन्टिनालाई पेनाल्टीको दिएका थिए। तर इतिहास रच्ने अवसरमा रहेका मेसीले नवौँ मिनेटमा प्रहार गरेको पेनाल्टी पोस्टभन्दा बाहिर प्रहार गरे।
पेनाल्टी गुमाएपछि पनि अर्जेन्टिनाले दबाब कायम राख्यो। १९औँ मिनेटमा मेसीको प्रहार अस्ट्रियाली गोलरक्षक अलेक्जेन्डर स्लागरले खुट्टाले बचाए भने ३१औँ मिनेटमा उनको अर्को प्रयास गोललाइनबाट क्लियर गरिएको थियो।
लगातार अवसर सिर्जना गरिरहेको अर्जेन्टिनाले ३८औँ मिनेटमा भने अग्रता बनाउन सफल भयो। थियागो आल्माडाले सुरु गरेको आकर्षक मुभलाई फाकुन्डो मेडिनाले पेनाल्टी क्षेत्रभित्र कटब्याक पासमा परिणत गरेका थिए। त्यसलाई मेसीले पहिलो टचमै जाली चुमाउँदै अर्जेन्टिनालाई अग्रता दिलाए। यो गोलसँगै उनले विश्वकपमा १७ गोल गर्दै क्लोजलाई उछिनेका थिए।
पहिलो हाफभर बल नियन्त्रणमा राखेको अर्जेन्टिनाले दोस्रो हाफमा पनि खेलमाथिको पकड कायम राख्यो। अस्ट्रियाले मार्सेल साबित्जर र माइकल ग्रेगोरिचमार्फत केही अवसर सिर्जना गरे पनि अर्जेन्टिनाका गोलरक्षक एमिलियानो मार्टिनेजलाई खासै समस्यामा पार्न सकेन।
दोस्रो हाफमा अस्ट्रियाले मार्को अर्नाउटोभिच, प्याट्रिक विमर र कार्नी चुक्वुएमेकालाई मैदानमा उतारे पनि खेलमा फर्किन सकेन।
अर्जेन्टिनाले पनि जुलियन अल्भारेज, निको गोन्जालेज, निकोलास ओटामेन्डी र लिएन्ड्रो परेडेसलाई मैदानमा उतार्दै अग्रता जोगाउने रणनीति अपनायो।
खेलको इन्जुरी समयको पाँचौँ मिनेटमा मेसीले पुनः चम्किए। उनले बायाँतर्फ जुलियन अल्भारेजलाई पास दिएपछि अल्भारेजको पहिलो प्रहार गोलरक्षकले रोकेका थिए। रिबाउन्ड बलमा मेसीको पहिलो प्रयास पनि रोकिएपछि उनले दोस्रो प्रयासमा बललाई जाली चुमाउँदै अर्जेन्टिनाको जित सुनिश्चित गरे।
दोस्रो गोलसँगै मेसीले विश्वकपमा आफ्नो कुल गोल संख्या १८ पुर्याए भने यस संस्करणमा पाँच गोल पनि पूरा गरे। पेनाल्टी गुमाएर खेल सुरु गरेका उनले अन्त्यमा कीर्तिमान र जित दुवै आफ्नो नाममा लेखाए। उनी जारी संस्करणमा हालसम्म सर्वाधिक गोलकर्ता छन्।
लगातार दोस्रो जितसँगै अर्जेन्टिना समूह ‘जे’बाट नकआउट चरणमा पुगेको छ भने अस्ट्रियाले पहिलो हार बेहोरेको छ। समूहमा अर्जेन्टिनाको ६ अंक छ भने अस्ट्रियाको ३ अंक छ। जोर्डन र अल्जेरिया अंकविहीन छन्।