काठमाडौं। नेपालबाट भारततर्फ हुने चिया निर्यातमा देखिएका समस्याहरूको पहिचान र समाधानका लागि सरकारले एक विशेष कार्यदल गठन गरेको छ।
कार्यदललाई चिया निर्यातका समस्याहरूको विस्तृत अध्ययन गरी आगामी दुई हप्ताभित्र तत्कालीन, मध्यकालीन र दीर्घकालीन समाधानका सुझावसहितको प्रतिवेदन पेस गर्ने जिम्मेवारी दिइएको छ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको द्विपक्षीय तथा क्षेत्रीय व्यापार महाशाखा प्रमुखलाई संयोजक तोकिएको छ।
कार्यदलका सदस्यहरूमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, र कृषि, वन तथा पर्यावरण मन्त्रालयका उपसचिवहरूको प्रतिनिधित्व रहनेछ।
विभागीय र बोर्ड प्रतिनिधित्वका साथै भन्सार विभागका उपमहानिर्देशक, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका निर्देशक, नेपाल गुणस्तर तथा नापतौल विभागका निर्देशक, राष्ट्रिय चिया तथा कफी विकास बोर्डका निर्देशक सदस्यका रूपमा रहेका छन्।