BIZMANDU
www.bizmandu.com

विष्णु पौडेलको पक्राउमा ओलीको वक्तव्य, ‘सरकार अलोकतान्त्रिक र अधिनायकवादको बाटोतर्फ उन्मुख’

२०८३ असार ८

विष्णु पौडेलको पक्राउमा ओलीको वक्तव्य, ‘सरकार अलोकतान्त्रिक र अधिनायकवादको बाटोतर्फ उन्मुख’
विष्णु पौडेलको पक्राउमा ओलीको वक्तव्य, ‘सरकार अलोकतान्त्रिक र अधिनायकवादको बाटोतर्फ उन्मुख’

काठमाडौं। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी उपाध्यक्ष विष्णु पौडेलको पक्राउ एमालेमाथि भइरहेको शृङ्खलाबद्ध प्रहार र राजनीतिक षड्यन्त्रको निरन्तरता भएको बताएका छन्।

Tata
GBIME
Nepal Life

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रले प्रहरीले पौडेललाई सुर्खेतबाट पक्राउ गरेको थियो। पक्राउपछि वक्तव्य जारी गर्दै ओलीले सांगठनिक कार्यक्रमका सिलसिलामा रहेका बेला सरकारले गैरकानुनी ढंगले अपहरणको शैलीमा गिरफ्तार गरेको जनाएका छन्।

एमाले कानुनी राज्य, सुशासन र विधिको शासनको पक्षमा रहेको भन्दै वक्तव्यमा ओलीले सत्तापक्षले विपक्षी दलहरूप्रति अख्तियार गरिरहेको अराजनीतिक, अलोकतान्त्रिक व्यवहारको पराकाष्ठा भएको समेत बताएका छन्।

कानुनले दिएका अन्य विकल्पको प्रयोग नगरी पौडेलमाथि धरपकड भएको वक्तव्यमा जनाइएको छ। पक्राउलाई सत्ता उन्मादमा गरिएको अधिनायकवादी कदम भएको समेत वक्तव्यमा जनाइएको छ।

ओलीको वक्तव्यमा भनिएको छ, ‘सार्वजनिक पद धारण गरिसकेका र कानुनलाई सदैव सम्मान गर्ने राजनीतिक व्यक्तित्वलाई केवल सस्तो ‘स्टन्ट’ र सस्तो राजनीतिक खपतका लागि बदनियतपूर्वक गिरफ्तार गरिएको छ। सत्ताको उन्मादमा गरिएको यस प्रकारको अधिनायकवादी कदमको हाम्रो पार्टी डटेर सामना गर्नेछ।’

सरकार अलोकतान्त्रिक, सर्वसत्तावाद र अधिनायकवादको बाटोतर्फ उन्मुख भएको आरोप ओलीको छ।