काठमाडौं । सरकारले स्थानीय तहबाटै नापी तथा मालपोत सेवा प्रवाह अभियान थालेसँगै काभ्रेको रोशी गाउँपालिकामा पनि यो सेवा सुरु भएको छ। सोमबारबाट गाउँपालिकाको कार्यालय अमलटारमा यो सेवा सुरु भएको गाउँपालिकाका अध्यक्ष दिनेश लामाले जानकारी दिए।
योसँगै घरजग्गासम्बन्धी कामका लागि सदरमुकाम धुलिखेल धाइरहनु नपर्ने अध्यक्ष लामाले बताए।
‘सोमबार दुई जनाले नक्सा प्रिन्ट गर्नुभयो। अब घरजग्गासम्बन्धी भूमि सेवाका सदरमुकाम धाइरहनु नपर्ने भयो,’ लामाले भने।
पहिलो नक्सा प्रिन्ट गर्ने सेवाग्राहीलाई गाउँपालिकाले खादा लगाएर सम्मानसमेत गरेको उनले बताए।
यसअघि काभ्रे जिल्लकै भुम्लु गाउँपालिकामा यो सेवा सुरु भएको थियो। भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहबाटै नापी तथा मालपोत सेवा प्रवाह सुरु गरेसँगै झापाको शिवसताक्षी नगरपालिका, उदयपुरको चौदण्डीगढी नगरपालिका काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिकाबाट भूमि प्रशासन सेवा सुरु भइसकेको छ।
यसअघि मन्त्रालयको आह्वानमा २०७ वटा स्थानीय तहले नापी तथा मालपोत सेवा सञ्चालन गर्न इच्छुक रहेको जानकारी गराएको भूमि व्यवस्थापन तथा अभिलेख विभागले जनाएको छ।