चितवन। राष्ट्रिय स्वतन्त्र पार्टीमा सभापतिमा रवि लामिछाने र वरिष्ठ उपाध्यक्षमा प्रधानमन्त्रीसमेत रहेका वालेन्द्र शाह सर्वसम्मत हुने निश्चित भए पनि उपसभापति र महामन्त्रीमा भने निर्वाचन हुने भएको छ। तीन उपसभापतिमध्ये दुई पुरुष सभापतिमा डा. स्वर्णिम वाग्ले र सुनिल लम्सालको सम्भावना छ।
यता महिला उपसभापतिमा भने लिमा अधिकारी, प्रतिभा रावल, सोविता गौतम, समीक्षा बास्कोटाले दाबेदारी पेस गरेका छन्। जसका कारण रास्वपाको पहिलो महाधिवेशन निर्वाचनतिर धकेलिने देखिएको छ। रास्वपाभित्र यो पदका लागि प्रतिभा र सोविताको सम्भावना उच्च रहेको नेताहरु बताउँछन्।

१९ पदाधिकारीमध्ये महामन्त्री पदमा पनि निर्वाचन हुने देखिएको छ। प्रवक्ता मनिष झाले महामन्त्रीमा उम्मेदवारी दिने बताएसँगै यो पदमा निर्वाचन हुने देखिएको हो। सोमबार बन्दसत्र ढिलाइबारे प्रेस ब्रिफिङमा प्रवक्ता झाले आफूले महामन्त्रीमा उम्मेदवारी दिने बताएका हुन्। ‘पदाधिकारीमा जान क्षमताको हिसाबले पनि योग्य छु। महामन्त्रीमा उम्मेदवारी दिने तयारी छ,’ झाले भने।
यता संसदीय दलका उपनेतासमेत रहेका गणेश पराजुलीले पनि महामन्त्रीमा दाबी पेस गरेका छन्। उपसभापति वा महामन्त्रीमध्ये एकमा आफूले उम्मेदवारी दिने पराजुलीले बताए।
चितवनको भरतपुरस्थित आइतबारबाट शुरु भएको रास्वपाको पहिलो महाधिवशेनले नयाँ कार्यसमिति चयन गर्दैछ। यसका लागि चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा बन्दसत्र आयोजना गरिएको छ। व्यवस्थापकीय कमजोरीका कारण बन्दसत्रमा ढिलाइ भएको रास्वपा प्रवक्ता झाले बताए।
रास्वपाका महाधिवेशनमा उपस्थित र प्रवासमा रहेका सहित ४ हजार जनाभन्दा बढी प्रतिनिधि छन्। निर्वाचनका लागि इलेक्ट्रोनिक भोटिङ मेसिनको व्यवस्था गरिएको छ। विदेशबाट १६३ जना महाधिवेशन प्रतिनिधि सहभागी हुने र उनीहरुले इ-भोटिङ गर्ने रास्वपाले जनाएको छ।
रास्वपाको १५१ सदस्यीय केन्द्रीय कमिटीमा सभापतिले ५० जना केन्द्रीय सदस्य मनोनीत गर्ने विधान प्रस्ताव गरिएको छ। पार्टी सभापतिले उपसभापति १, महामन्त्री १, सहमहामन्त्री १, कोषाध्यष १, सहकोषाध्यक्ष १, प्रवक्ता १ र सहप्रवक्ता १ जना मनोनीत गर्नेछन्। बन्दसत्रको हलले विधान हेरफेर गरी संशोधन गरे केन्द्रीय समितिको संख्या घटबढ हुने बताइएको छ।
१९ जना पदाधिकारीमध्ये ११ जना निर्वाचित र बाँकी पदाधिकारी मनोनीत गर्ने बताइएको छ।