काठमाडौं। चालु आर्थिक वर्ष ११ महिनामा १८ खर्ब ९४ अर्बको वस्तु आयात हुँदा १ खर्बभन्दा बढीको डिजल भित्रिएको छ।
भन्सार विभागका अनुसार डिजल एक खर्ब ५२ करोड रुपैयाँको भित्रिएको हो। चालु आर्थिक वर्ष जेठसम्म १२ लाख ६४ हजार ८७४ किलोलिटर डिजल आयात भएको छ।
आयात धेरै हुने वस्तुको सूचीमा दोस्रो नम्बरमा भटमास तेलको कच्चा पदार्थ छ। कच्चा भटमास तेल एक खर्ब १९ करोड ६३ लाख रुपैयाँको ७२ करोड ६४ लाख लिटरभन्दा बढी आयात भएको छ।
तेस्रो स्थानमा पेट्रोल छ। ११ महिनामा ६८ अर्ब १७ करोड रुपैयाँको ६ लाख ८५ हजार किलोलिटर पेट्रोल आयात भएको छ।
चौथो स्थानमा स्पन्ज आइरन छ। स्पन्ज आइरन ५३ अर्ब ६९ करोड रुपैयाँको १ अर्ब २२ करोड केजीभन्दा बढी भित्रिएको छ।
त्यस्तै, एलपी ग्यास ५२ अर्ब २१ करोड रुपैयाँको ४७ करोड ५९ लाख केजी र स्मार्ट फोन ४३ अर्ब ४५ करोड रुपैयाँको २० लाख ४१ हजार थान आयात भएको छ।
गत आर्थिक वर्ष ११ महिनामा १ खर्ब १५ अर्बको डिजल, ९५ अर्बको कच्चा भटमास तेल, ५८ अर्ब ५८ करोडको पेट्रोल, ५७ अर्ब ३६ करोडको एलपी ग्यास, ४५ अर्ब ७१ करोडको स्पन्ज आइरन र ३२ अर्बको स्मार्ट फोन आयात भएको थियो।