काठमाडौं। पछिल्लो समय औद्योगिक क्षेत्रले उत्पादन घटाएका छन्। माग नहुँदा अधिकांश उद्योगहरू आधा क्षमतामा मात्रै चलेको व्यवसायीहरूको भनाइ छ।
नेपाल राष्ट्र बैंकका आर्थिक प्रतिवेदनहरूले पनि देशमा आन्तरिक माग संकुचन भएको कुरा लगातार उल्लेख गर्दै आएका छन्। ब्याजदर इतिहासकै न्यून बिन्दुमा पुग्दा पनि निजी क्षेत्रले कर्जा लिइरहेका छैनन्।
विश्व बैंकको ‘नेपाल डेभलपमेन्ट अपडेट २०२६’ले पनि उपभोक्ताहरूको क्रयशक्ति कमजोर भएकाले आन्तरिक माग सुस्त भएको निष्कर्ष निकालेको छ। सरकारले गर्ने विकास खर्च पर्याप्त हुन नसक्दा बजारमा पैसाको चक्र चल्न नसकेको र औद्योगिक उत्पादन बढ्न नसकेको गत अप्रिलमा सार्वजनिक रिपोर्टमा उल्लेख छ।
पछिल्लो समय स्टिल, प्लास्टिकजस्ता सामग्रीसँग सम्बन्धित उद्योगहरू सबैभन्दा बढी मारमा परेका छन्। विकास परियोजना सुस्त हुँदा वा नयाँ उद्योगहरूमा लगानी थप नहुँदा सिमेन्ट उद्योगको बजार पनि सुस्ताएको छ।
पेट्रोलियम पदार्थको बाइप्रडक्टबाट बन्ने प्लाष्टिकजन्य उद्योग २० प्रतिशत क्षमतामा मात्रै चलेका छन्। नेपाल प्लाष्टिक उत्पादक संघका निवर्तमान अध्यक्ष शरद शर्मा कच्चा पदार्थको मूल्य ६०-१०० प्रतिशतसम्म बढेको बताउँछन्।
‘मूल्य बढ्नेमात्रै होइन, कच्चा पदार्थको अभाव पनि उत्तिकै छ। ठूलो लागतमा बनाउँदा बजार माग पनि हुँदैन। यसले गर्दा उत्पादन लागत कटौती गर्नुपरेको छ,’ शर्माले भने।
तर, औद्योगिक कच्चा पदार्थ र अर्धप्रशोधित वस्तुको माग भने उकालो लाग्दो छ। भन्सार विभागको तथ्यांकअनुसार गएको वैशाखसम्म कुल आयातको ५३ प्रतिशत हिस्सा यस्ता वस्तुले ओगटेका छन्।
औद्योगिक पार्ट्स तथा मेसिनरीजस्ता पुँजी निर्माणमा उपयोग हुने वस्तुको आयात भने ९ प्रतिशतमा सीमित छ। बाँकी ३७ प्रतिशत हिस्सा उपभोग्य वस्तुले ओगटेको विभागको भनाइ छ।

आन्तरिक औद्योगिक माग न्यून हुँदा पनि अर्धप्रशोधित वस्तुको आयात र माग बढ्नुको कारण के होला? अर्थशास्त्री चन्द्र घिमिरे नेपाली उद्योगहरूले गरिरहेको पुनर्निर्यातले भूमिका खेलेको हुनसक्ने बताउँछन्।
‘तेस्रो मुलुकबाट औद्योगिक वस्तु ल्याउने, यता प्रशोधन गर्ने अनि फेरि उतै बेच्ने नेपाली उद्योगहरूले रणनीति अपनाइरहेका छन्। यसले उद्योगहरूको व्यवसाय विस्तार र रोजगारीमा राम्रै गरिरहेकोजस्तो लाग्छ,’ उनले भने।
तर, यस्तो रणनीतिले उद्योग दीर्घकालीनरुपमा चल्न भने नसक्ने उनको भनाइ छ।
घिमिरेले भनेजस्तै तेस्रो मुलुकबाट कच्चा सोयाबिन, सूर्यमुखी वा कच्चा पाम आयल आयात गरी प्रशोधन गरेर निर्यात गर्ने ट्रेन्ड नै छ। पछिल्लो १० महिनामा मात्रै १ खर्ब ६ अर्बभन्दा बढी मूल्यको कच्चा सोयाबिनको तेल आएको छ। त्यस्तै, १७ अर्ब ३९ करोडको सूर्यमूखी र ११ अर्ब ४८ करोडको पाम आयल आयात भएको छ।
भन्सारको तथ्यांकअनुसार वैशाखसम्म सबैभन्दा धेरै निर्यात हुने वस्तुको पहिलो नम्बरमा सोयाबिन तेल छ। यो अवधिमा १ खर्ब १ अर्ब २६ करोडको प्रशोधित सोयाबिन तेल निर्यात भएको छ। त्यसैगरी, ७ अर्ब ४१ करोडको सूर्यमुखी तेल र ५ अर्ब ५६ करोडको पाम आयल निर्यात भएको छ।
व्यवसायीहरू मूल्यवृद्धिका कारण अर्धप्रशोधित वस्तुहरू धेरै आयात भएकोजस्तो देखिएको बताउँछन्। उद्योगी गोपालकुमार अग्रवालले अन्तर्राष्ट्रिय बजारको महंगीले ‘इन्टरमिडियट गुड्स’को आयात धेरै भएकोजस्तो देखिएको बताए।
‘अहिले हरेक गुड्स कम्तीमा १५ प्रतिशत बढी मूल्यमा किन्नुपर्छ। यसले गर्दा उत्तिकै परिमाणको वस्तु आयात गर्दा धेरै रकम खर्चिनुपर्ने अवस्था छ,’ उनले भने।
यसले पनि उत्पादन र अर्धप्रशोधित वस्तुबीचको आयातमा तालमेल नमिलेको हुनसक्ने उनको बुझाइ छ। त्यसका साथै धेरैजसो इन्टरमिडियट गुड्स उद्योग बाहेक घरायसी उपयोगमा पनि जाने अग्रवालको भनाइ छ।
उनले भने, ‘जस्तो फ्याक्ट्रीले बिस्कुट बनाउन प्रयोग गर्यो भने चिनी ‘इन्टरमिडियट गुड्स’ भयो। यो सिधै घरायसी प्रयोजनमा पनि उत्तिकै उपयोग हुने वस्तु हो।’
त्यसका साथै फलाम, तामा, प्लाष्टिक, धागोजस्ता सयौँ वस्तु ‘फाइनल प्रोडक्ट’ र ‘इन्टरमिडियट’ दुवै गुड्सको रुपमा प्रयोग हुने भएकाले यस्ता वस्तुको माग बढी भएको हुनसक्ने अग्रवालले बताए।
‘उद्योग जोगाउँछ तर भ्यालु एडिसन हुँदैन’
बजारमा माग नहुँदा पनि अर्धप्रशोधित वस्तुको आयात निरन्तर बढ्नुका अर्थतन्त्रमा सकारात्मकभन्दा नकारात्मक प्रभाव बढी हुने विज्ञहरूको भनाइ छ। पूर्ववाणिज्य सचिव पुरुषोत्तम ओझा अर्धप्रशोधित कच्चा पदार्थको धेरै आयात आन्तरिक अर्थतन्त्रलाई बलियो बनाउन नसक्ने बताउँछन्।
औद्योगिक पार्ट्स तथा मेसिनरीजस्ता पुँजी निर्माण गर्ने वस्तु र कच्चा पदार्थको आयात बढ्नु असाध्यै राम्रो हो। यसले अर्थतन्त्रलाई सबै हिसाबले बलियो बनाउँदै लैजान्छ।
ओझाले भने, ‘तर, अर्धप्रशोधित वस्तुको बढ्दो आयातले तत्कालका लागि आँकडा ठूलो देखाउने र केही उद्योग चलेजस्तो बनाउने बाहेक आन्तरिक भ्यालु एडिसन असाध्यै न्यून हुन्छ। यसले मुलुकको अर्थतन्त्रलाई मोटाउन नदिएर सुन्निएको बनाउँछ।’
आन्तरिक उत्पादनभन्दा यस्ता गुड्समा निर्भर हुँदा बाह्य बजारको महँगीका प्रभाव पनि निकै छिटो देखिन्छ।
‘त्यस्तै डलर सञ्चिति, शोधनान्तर स्थितिलाई जहिल्यै चुनौती दिइरहेको हुन्छ। त्यसका साथै उद्योगहरूको लागत बढी हुने हुँदा र उत्पादन पनि महँगो र प्रतिस्पर्धी हुन सक्दैन,’ ओझाले भने।
यति हुँदाहुँदै पनि अर्धप्रशोधित वस्तुको प्रशोधन र पुनर्निर्यातले उद्योग क्षेत्र, प्याकेजिङ क्षेत्र र ढुवानी व्यवसायलाई चलायमान बनाउँछ। यसले औद्योगिक क्षेत्रमा रोजगारी सिर्जना र श्रम बजारलाई टिकाउन मद्दत पुर्याएको व्यवसायीहरूको भनाइ छ।
व्यवसायी अग्रवालले भने, ‘आपूर्ति श्रृंखलालाई टुट्न पनि दिंदैन। यसले उद्योगहरूलाई जोगाएको र बैंकिङ प्रणालीमा खराब कर्जा थुप्रिन दिएको छैन।’
आन्तरिक माग घटेको अवस्थामा उद्योगहरूलाई ‘बन्द हुनबाट जोगाउन’ यस्ता गुड्सको बढ्दो आयातले काम गर्छ।
उद्योगी अग्रवालले भने, ‘आन्तरिक बजार सुस्ताए पनि बाह्य बजारले बैंकको ब्याज, प्रशासनिक खर्च र मेसिनरीको ह्रासकट्टी धानिरहेका छन्।’