काठमाडौं। केप भर्डेले उरुग्वेलाई पनि बराबरीमा रोकेको छ। फिफा विश्वकपमा यसै संस्करणमा डेब्यु गरेको केप भर्डेले लगातार दुई खेलमा दुई पूर्व विश्वविजेतालाई रोक्न सफल भएको हो।
फ्लोरिडास्थित मियामी स्टेडियममा आज सम्पन्न फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’को खेलमा केप भर्डेले दुई पटकको विश्व च्याम्पियन उरुग्वेसँग २-२ को रोमाञ्चक बराबरी खेल्दै अर्को ऐतिहासिक नतिजा निकालेको छ। स्पेनसँग गोलरहित बराबरी खेलेर विश्वकपमा डेब्यु गरेको केप भर्डेले यसपटक पनि शक्तिशाली प्रतिद्वन्द्वीलाई अंक बाँड्न बाध्य पार्दै अन्तिम ३२ को सम्भावनालाई बलियो बनाएको हो।
खेलको २१औं मिनेटमा केभिन पिनाले करिब ३२ यार्ड टाढाबाट प्रहार गरेको शानदार फ्रिकिक गोलमा परिणत भएपछि केप भर्डेले अप्रत्याशित अग्रता लिएको थियो। उक्त गोल केप भर्डेको विश्वकप इतिहासकै पहिलो गोल बनेको थियो। पिनाको शक्तिशाली प्रहार उरुग्वेको पर्खाल चिर्दै गोलकिपर फर्नान्डो मुस्लेरालाई झुक्याएर जाली चुमेको थियो।
अग्रता लिएपछि थप उत्साहित बनेको केप भर्डेले केही अवसर सिर्जना गरे पनि उरुग्वेले पहिलो हाफको अन्त्यतिर उत्कृष्ट पुनरागमन गर्यो। ४४औं मिनेटमा म्याक्सी अराउजोले डाइभिङ हेडरमार्फत गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए। त्यसपछि इन्जुरी समयको छैटौं मिनेटमा अराउजोकै हेडर पासलाई अगस्टिन कानोब्बियोले नजिकैबाट गोलमा परिणत गर्दै उरुग्वेलाई २-१ को अग्रता दिलाए।
पहिलो हाफपछि खेल उरुग्वेको नियन्त्रणमा जाने अनुमान गरिएको थियो। तर केप भर्डेले हार नमानी पुनः शानदार पुनरागमन गर्यो। ६१औं मिनेटमा उरुग्वेका डिफेन्डर म्याथियास ओलिभेराले गरेको कमजोर पासको फाइदा उठाउँदै वैकल्पिक खेलाडी हेलियो भरेलाले खाली पोस्टमा सहज गोल गरेपछि खेल २-२ को बराबरीमा पुग्यो।
त्यसपछि उरुग्वेले जितका लागि लगातार दबाब सिर्जना गर्यो। ६८औं मिनेटमा अराउजोले गरेको गोल अफसाइडका कारण रद्द भयो भने फेडेरिको भाल्भेर्दे, निकोलास डे ला क्रुज र डार्विन नुनेजले पाएका अवसर पनि गोलमा परिणत हुन सकेनन्।
खेलको अन्तिम समयमा भने केप भर्डेका अनुभवी गोलरक्षक भोजिन्हा नायक बने। ९५औं मिनेटमा लारोस डुआर्टेको शक्तिशाली प्रहार उरुग्वेका ४० वर्षीय गोलरक्षक मुस्लेराले रोकेपछि केप भर्डेले सम्भावित सनसनीपूर्ण जित गुमायो। अर्कोतर्फ, भोजिन्हाले पनि उरुग्वेका थुप्रै आक्रमण विफल पार्दै टोलीलाई महत्वपूर्ण एक अंक दिलाए।
४० वर्षमाथिका दुई गोलरक्षक-मुस्लेरा र भोजिन्हा-एकै विश्वकप खेलमा मैदान उत्रिएको यो पहिलो अवसर समेत बनेको छ।
स्पेनसँग गोलरहित बराबरीपछि उरुग्वेसँग २-२ को नतिजा निकाल्दै केप भर्डेले आफ्नो पहिलो विश्वकप यात्रामा लगातार दोस्रो खेलमा अंक जोडेको छ। केप भर्डेले विश्व फुटबलमा आफूलाई नयाँ शक्तिका रूपमा स्थापित गर्ने संकेत दिएको छ भने उरुग्वेले लगातार दोस्रो खेलमा जित निकाल्न नसक्दा समूह चरण पार गर्ने दबाब थपिएको छ।