चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सरकारको नेतृत्व ५ वर्षसम्म बालेन्द्र शाह (बालेन)ले गर्नेमा शंका नगर्न आग्रह गरेका छन्।
उनले आइतबार पार्टीको महाधिवेशन उद्घाटनका क्रममा बालेनसँग गरेको सहमति अक्षरश: पालना हुनेमा शंका नगर्न आग्रह गरे। रवि र बालेनबीच पुस दोस्रो साता सरकार र पार्टीको नेतृत्व सम्बन्धमा सहमति भएको थियो।
सहमतिअनुसार नै रास्वपाले बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरी निर्वाचनमा प्रतिस्पर्धा गर्दा २ तिहाइ मत ल्याएको थियो।
रविले सहमतिअनुसार नै बालेन प्रधानमन्त्री बनेको भन्दै सरकार ढलाउनका लागि गरिने प्रयास सफल हुन नदिने बताए।
‘हामीले नेपाली जनता र इतिहासलाई साक्षी राखेर गरेको सहमतिको एक-एक अक्षर पालना गर्ने प्रण गर्छु। रास्वपाले बल बालेनजीको खुट्टामा दिइसकेको छ। भटाभट गोल हान्ने जिम्मा बालेनजीको हो,’ उनले भने, ‘झुक्किएर कतै मेरो खुट्टामा बल आए त्यसलाई पास गर्ने जिम्मा मेरो हो। यहाँ मुख मिठ्याउने धेरै छन्।’
रविले रास्वपाको हातमा देश सुरक्षित रहेको दाबी गरे। उनले पार्टीभित्र गुट उपगुटमा नलाग्न नेता तथा कार्यकर्तालाई आग्रह गरे। उनले गुट उपगुटमा लाग्नेहरूलाई पार्टीले कारबाही गर्ने चेतावनी दिए।
‘देश रास्वपाको हातमा छ। देश सुरक्षित छ,’ उनले भने, ‘गुट र उपगुट बनाएर रोप्यौं भने त्यो विषालु हुन्छ। त्यो फल फल्यो भने त्यो काट्नुपर्ने हुन्छ। हामी गुट उपगुटमा नलागी लाग्यौं भने रास्वपालाई लडाउने शक्ति अरु आउँदैन। सरकार ढलाउने गलाउने प्रयास निकै हुनेछ।’
रविले आफ्नो दलभित्रका अफ्ठ्यारा सुल्झाउन कांग्रेस र एमालेलाई सुझाव दिए।