चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशन सुरु भएको छ। रास्वपाले आफ्नो स्थापनाको चार वर्ष पूरा भएको दिनको अवसर पारेर महाधिवेशन गरेको हो।
रास्वपा सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र शाह भरतपुरस्थित गेस्ट हाउस चौरमा आयोजित महाधिवेशन उद्घाटनस्थलमा एउटै गाडी सवार भएका छन्।

रास्वपाको महाधिवेशन उद्घाटनमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति गगन थापा, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, नेकपा एमालेका केन्द्रीय सदस्य प्रदीप ज्ञवाली, नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुन, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, जसपा अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष डा. सीके राउत लगायत नेता सहभागी भएका छन्।

रवि र बालेनले महाधिवेशन उद्घाटन गरेका छन्। अरु दलका नेतालाई पनि उद्घाटनका क्रममा घण्टी बजाउन लगाइएको छ। कांग्रेस सभापति गगनलाई प्रधानमन्त्री बालेनले घण्टी दिएका थिए।

तीन दिनसम्म चल्ने महाधिवेशनले १९ जना पदाधिकारीसहित १०० जना केन्द्रीय सदस्य निर्वाचित गर्नेछ। ४ हजार २११ प्रतिनिधिले पदाधिकारी र केन्द्रीय सदस्य छान्नेछन्।
महाधिवेशनले एक सभापति, एक वरिष्ठ नेता, एक महिलासहित तीन उपसभापति, दुई महामन्त्री, एक महिलासहित पाँच सहमहामन्त्री, एक कोषाध्यक्ष, एक सहकोषाध्यक्ष, एक प्रवक्ता र तीन सहप्रवक्ता निर्वाचित गर्नेछ।

९९ केन्द्रीय सदस्यमध्ये ३५ जना सात प्रदेशबाट पाँच/पाँच जनाका दरले, खुलातर्फबाट ३२ जना र बाँकी ३२ जना समावेशी सिद्धान्त अनुसार निर्वाचित हुनेछन्। ५१ केन्द्रीय सदस्य सभापतिले मनोनीत गर्नेछन्।
टेलिभिजनमा सिधा कुरा जनतासँग कार्यक्रम चलाएर समर्थकहरु जुटाएका रवि लामिछानेले २०७९ असार ७ गते रास्वपा गठन गरेका थिए। पार्टी स्थापनाको ५ महिनामै रास्वपाले प्रतिनिधि सभामा २१ सिट जितेको थियो। त्यतिखेर रास्वपा सुरुमा दुई महिना र पछि चार महिना सरकारमा बसेको थियो। २०८१ असारमा सरकारमै रहेको एमालेले नेपाली कांग्रेससँग गठबन्धन गरी सत्ताको नेतृत्व सम्हालेपछि रास्वपा प्रतिपक्षमा पुगेको थियो।


एमाले र कांग्रेसको सरकारले रास्वपा सभापति रवि लामिछानेविरुद्ध सहकारीको रकम अपचलन गरेको आरोपमा विभिन्न पाँच जिल्लाका अदालतमा ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरेको थियो। रविलाई मुद्दा दायरका क्रममा विभिन्न जिल्ला घुमाइएको थियो। उनीमाथि तत्कालीन सरकारले ‘अधिक’ बल प्रयोग गरेको भन्दै रास्वपाले हस्ताक्षर अभियान चलाउँदा करिब ४० लाख जनताले साथ दिएका थिए।

पुराना राजनीतिक दलले जनतालाई सेवा प्रवाहमा बेवास्ता गरी भ्रष्टाचारलाई प्रोत्साहन गरेको भन्दै सुशासनको नारासहित उदाएको रास्वपाले दोस्रो प्रयासमै करिब दुई तिहाइ मत ल्याएर सरकार चलाइरहेको छ। रास्वपाले गत फागुन २१ गते भएको निर्वाचनमा प्रत्यक्षतर्फ १२५ सहित १८२ सिट जितेको थियो।




