काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनमा भाग लिन पत्नी सविना काफ्ले र छोरीसहित चितवन पुगेका प्रधानमन्त्री बालेन्द्र शाह शक्तिखोरस्थित लटौली स्याङ्चुअरी रिसोर्टमा बस्ने भएका छन्।
१६ वटा कोठासहितको रिसोर्ट प्रधानमन्त्री बालेन र उनको टिमका सदस्यहरुलाई तीन दिनका लागि बुकिङ गरिएको स्रोतले बताएको छ।

बालेन भरतपुर विमानस्थलमा अवतरण गरेपछि रिसोर्टमा पुगेका छन्। स्रोतका अनुसार बालेन र रास्वपा सभापति रवि लामिछानेबीच रिसोर्टमा भेट भएको छ।
रिसोर्ट रास्वपाको महाधिवेशनस्थल भरतपुरबाट करिब २० किलोमिटरको दूरीमा पर्छ। रविले भने होटल बुक गरेका छैनन्। शनिबार चितवन पुगेका रवि भरतपुरस्थित आफ्नै निवासमा बसेका छन्।

गृहमन्त्री सुधन गुरुङ पनि लटौली रिसोर्टमा बस्ने तय भएको छ। बालेनको टिम रहेसम्म रिसोर्टमा अरुलाई राखिने छैन। त्यही कारण रिसोर्टले केही कर्मचारीलाई बिदामा राखेको छ।

नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल निकट मानिने ज्ञानेन्द्र खड्का सञ्चालक रहेको रिसोर्ट सञ्चालनमा आएको धेरै भएको छैन। यो रिसोर्ट महँगो मानिन्छ।
रिसोर्टले डिलक्स रुमको मूल्य एक रातको १५५ अमेरिकी डलर र सुइट रुमको मूल्य २२५ अमेरिकी डलरबाट सुरु हुने उल्लेख गरे पनि १५ हजार रुपैयाँमा दिने गरेको एक कर्मचारीले जानकारी दिए।