BIZMANDU
www.bizmandu.com

रास्वपाको महाधिवेशनले चितवनको पर्यटन बुम, भरतपुरदेखि सौराहाका होटल भरिभराउ

२०८३ असार ७

रास्वपाको महाधिवेशनले चितवनको पर्यटन बुम, भरतपुरदेखि सौराहाका होटल भरिभराउ
रास्वपाको महाधिवेशनले चितवनको पर्यटन बुम, भरतपुरदेखि सौराहाका होटल भरिभराउ

चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनका कारण चितवनका होटल खचाखच भएका छन्। रास्वपाको आइतबार सुरु हुने महाधिवेशनका कारण शुक्रबारदेखि नै चितवनका होटल खचाखच भएका हुन्।

Tata
GBIME
Nepal Life

चितवनका होटललाई रास्वपाको महाधिवशेन बोनससरह भएको छ। सातामा दुई दिन बिदाका कारण शुक्रबार र शनिबार अकुपेन्सी बढिरहेकामा रास्वपाको महाधिवेशनले होटलको व्यापार बढाइदिएको हो।

रास्वपाको पहिलो महाधिवेशनमा ४ हजार २०० भन्दा बढी प्रतिनिधिले भाग लिंदैछन्। महाधिवेशन प्रतिनिधिभन्दा ठूलो संख्यामा रास्वपाका कार्यकर्ता चितवन पुगेका छन्। जस्तो कि २८ जना प्रतिनिधि रहेको भक्तपुरबाट करिब डेढ सयजना चितवन पुगेका छन्। यसबाहेक संचारकर्मी पनि ठूलो संख्यामा उपस्थित भएका छन्। जसका कारण भरतपुरका साथै सौराहाका होटल भरिएका हुन्।

भरतपुरका खासगरी सबैजसो ठूला होटलमा यतिखेर कोठा पाउन मुस्किल छ। महँगो मानिने भिभान्ता होटलमा पनि ग्राहकले कोठा पाउने स्थिति छैन।

भरतपुरका होटल भरिएका कारण रास्वपाकै नेता कार्यकर्ता त्यहाँबाट २० किलोमिटरभन्दा परको दूरीमा पर्ने सौराहाका होटलमा पुगेका छन्। भरतपुरका होटलमा कोठा नपाएपछि रास्वपाका नेता तथा कार्यकर्ता बास खोज्दै शनिबार राति १२ बजेसम्म पनि सौराहा पुगेका थिए।

महाधिवेशनस्थल भरतपुरका साना होटलका बसेका रास्वपाका कतिपय नेता कार्यकर्ता एसी सुविधा राम्रो नरहेको भन्दै आइतबार बिहान सौराहा पुगेका छन्।

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, पर्यटनमन्त्री खडकराज पौडेल लगायत भरतपुरमा ठाउँ नपाएपछि सौराहाका होटलमा बसेका छन्।

पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज र वनमन्त्री गीता चौधरी सपना भिलेज लजमा बसेका छन्। यो लजका सञ्चालक ध्रुव गिरी रास्वपामै आवद्ध छन्।

अर्थमन्त्री डा. वाग्लेले वनबास रिसोर्टमा रात बिताएका छन्। यो रिसोर्टका सञ्चालक नेपाली कांग्रेसका कोषाध्यक्ष उमेश श्रेष्ठ हुन्।

रास्वपाका महामन्त्री भूपदेव शाह नवलपुरको मौलाकालिकास्थित इला होटलमा बसेका छन्। नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष चन्द्र ढकालको होटलमा भूपदेवका अलावा केपी खनाल लगायत नेताले रात बिताएका छन्।

रास्वपा सभापति रवि लामिछाने भने आफ्नै घरमा बसेका छन्। कानुनमन्त्री सोविता गौतम पनि आफ्नै होटलमा बसेकी छन्।

क्षेत्रीय होटल संघ सौराहाका पूर्वअध्यक्ष सुमन घिमिरेले दुई दिने बिदाका कारण होटलको अकुपेन्सी बढेका बेला अहिले रास्वपाको महाधिवेशनका कारण भरतपुर र सौराहाका सबैजसो होटल भरिएको बताए।

‘सरकारले सातामा दुई दिन बिदा दिन थालेपछि सौराहाका होटलमा खासगरी शुक्रबार र शनिबार अकुपेन्सी ७० प्रतिशतसम्म पुग्ने गरेको छ। फेरि आजबाट रास्वपाको महाधिवेशन परेकाले कोठा खाली छैन,’ घिमिरेले भने, ‘रास्वपाका नेता कार्यकर्ता शुक्रबारदेखि नै आइरहनुभएकाले हामीले अहिले अरु पाहुनालाई कोठा दिन सक्ने अवस्था छैन।’

सौराहाका होटल रिसोर्टसँग साढे ६ हजार बेड छन्। रास्वपाको महाधिवेशन मंगलबारसम्म चल्नेछ। महाधिवेशन प्रतिनिधिहरुले मंगलबारसम्मका लागि नै होटल बुक गरेका छन्।

पर्यटनमन्त्री पौडेलले आइतबार बिहान सौराहाका पर्यटन व्यवसायीसँग छलफल गरेका छन्। छलफलका क्रममा व्यवसायीहरुले सातामा दुई दिन बिदाको निर्णयलाई निरन्तरता दिन आग्रह गरेका छन्।

‘दुई दिन बिदाका कारण आन्तरिक पर्यटन फस्टाएको छ। त्यसैले यसलाई निरन्तरता दिनुपर्छ,’ घिमिरेले मन्त्रीसामु भनेको कुरा दोहोर्‍याउँदै सुनाए, ‘मन्त्रीज्यूले दुई दिने बिदाको निर्णयमा दायाँ बायाँ हुँदैन भन्नुभएको छ।’