काठमाडौं। सूर्य नेपाल गल्फ टुर २०२५-२६ अन्तर्गत सिजनको अन्तिम प्रतियोगिता सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपअन्तर्गतको प्रो-एमको उपाधि एमेच्योर सदभाव आचार्यको टिमले जितेको छ।
गोकर्ण गल्फ क्लबमा सदभाव सम्मिलित टिमले कुल १ सय ६६ अंक सहित उपाधि जितेको हो।
सदभावले ४५, सायन बस्न्यातले ४२, सत्यजोत रानाले ४० र किरण पौडेलले ३९ अंक जोडे। विजयी खेलाडीहरूलाई ओडीसीको पटर प्रदान गरियो।
प्रोफेसनल शुक्र बहादुर राईको टिम १ सय ५५ सहित दोस्रो भयो। शुक्रले ४१ अंक जोड्दा एमेच्योरहरू जिग्मे डोङ्गस्टेनले ३९, प्रदीप केसीले ३८ र उज्जवल प्रधानाङ्गले ३७ अंक बनाए। दोस्रो भएका खेलाडीहरूलाई क्यालवेको वेज प्रदान गरिएको छ।
प्रोफेसनल जयराम श्रेष्ठको टिमले १ सय ५० अंक सहित तेस्रो स्थान प्राप्त गर्यो। जयरामले ४० अंक जोड्दा एमेच्योरहरू फुर्साङ लामा र तेन्जिङ लामाले समान ३७ तथा टेण्डी शेर्पाले ३६ अंक जोडे।
महिलातर्फ विपना श्रेष्ठले काउन्ट ब्याकमा उपाधि जितिन्। उनले एन्जिला योञ्जनलाई पछि पारिन्। तेन्जिङ छिरिङले लङ्गेस्ट ड्राइभ र बावु शेर्पाले क्लोजेस्ट टु दी पिनको उपाधि हात पारे।
विजयी खेलाडीहरूलाई सूर्य नेपाल प्रालिका म्यानेजिङ डिरेक्टर गौरव तयाल, सूर्य नेपालका कर्पोरेट उपाध्यक्ष रवि केसी, एनपीजीएका अध्यक्ष रविन्द्रमान श्रेष्ठ र गोकर्ण गल्फ क्लबका क्याप्टेन जोसेफ नाथनले पुरस्कार वितरण गरे।
पुरस्कार वितरण समारोहमा सूर्य नेपालले राष्ट्रिय टिमका सदस्य एमेच्योर गल्फ खेलाडी राहुल विश्वकर्मालाई गल्फ खेल सामग्री सहयोग गरेको छ। सूर्य नेपालका म्यानेजिङ डिरेक्टर गौरव तयाल, सूर्य नेपाल प्रालिका कर्पोरेट उपाध्यक्ष रवि केसीले राहुललाई चेक हस्तान्तरण गरे। प्रो-एममा २५ प्रोफेसनल सहित १ सय ५० खेलाडीको सहभागिता थियो।
यो सँगै सूर्य नेपाल गल्फ टुर २०२५-२६ को सबै ८ प्रतियोगिता सकिएको छ। जसमा सर्वाधिक ४ प्रतियोगिताको उपाधि जित्दै भुवन नगरकोटी अर्डर अफ मेरिटमा शीर्षस्थानमा रहन सफल भएका छन्।