BIZMANDU
www.bizmandu.com

पहिलो हाफमा पछि परेको जर्मनीले पुनरागमन गर्दै आइभरी कोस्टलाई हरायो, ‘सुपर सब’ बने डेनिज

२०८३ असार ७

पहिलो हाफमा पछि परेको जर्मनीले पुनरागमन गर्दै आइभरी कोस्टलाई हरायो, ‘सुपर सब’ बने डेनिज
पहिलो हाफमा पछि परेको जर्मनीले पुनरागमन गर्दै आइभरी कोस्टलाई हरायो, ‘सुपर सब’ बने डेनिज

काठमाडौं। जर्मनीले आईभरी कोस्टमाथि जित निकालेको छ। फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘ई’ को दोस्रो खेलमा आइभरी कोस्टलाई २–१ ले पराजित गरेसँगै अन्तिम ३२ मा पनि स्थान पक्का गरेको हो।

Tata
GBIME
Nepal Life

टोरन्टो स्टेडियममा आज बिहान भएको रोमाञ्चक खेलमा जर्मनीका सुपर सब डेनिज उन्डाभ नायक बने।

खेलभर दबाब बनाए पनि जर्मनीले सुरुआतमा गोल गर्न सकेन। काइ हाभर्ट्ज, जमाल मुसियाला र फेलिक्स नेमेचाले पाएका अवसर खेर जाँदा आइभरी कोस्टले भने पहिलो गोल गर्दै अग्रता लिएको थियो।

३०औँ मिनेटमा यान डियोमान्डेको आकर्षक क्रसलाई अमाद डियालोले प्रहार गरेका थिए। जर्मन डिफेन्डर नाथानियल ब्राउनले पहिलो प्रहार रोके पनि रिबाउन्डमा फ्रान्क केसीले शक्तिशाली प्रहार गर्दै आइभरी कोस्टलाई १-० को अग्रता दिलाए।

त्यसपछि जर्मनीले दुई पटक बल जाली चुमाए पनि दुवै गोल फाउलका कारण रद्द भए। पहिलो हाफ १-० गोलले पछि परेको जर्मनीका प्रशिक्षक जुलियन नागेल्समानले दोस्रो हाफमा एकैपटक तीन खेलाडी परिवर्तन गरे। त्यही निर्णय जर्मनीको जितका लागि निर्णायक सावित भयो।

सब्सिच्युड खेलाडीका रुपमा ६० औँ मिनेटमा मैदान प्रवेश गरेका डेनिज उन्डाभले ६ मिनेटमै गोल गरे। नादिम अमिरीको क्रसलाई उन्डाभले भली प्रहारमार्फत गोल गर्दै ६६ औँ मिनेटमा खेल १-१ गोलको बराबरीमा ल्याए। यो गोलसँगै जर्मनीले खेलमा पुनरागमन गर्‍यो।

त्यसपछि दुवै टोलीले विजयी गोलका लागि प्रयास जारी राखे। आइभरी कोस्टका सिमोन आदिङ्ग्राले ९०औँ मिनेटमा पाएको सुनौलो अवसर गुमाउँदा जर्मनीले त्यसको फाइदा उठायो।

इन्जुरी समयको चौथो मिनेटमा फेलिक्स नेमेचाको सटिक पासलाई उन्डाभले नै उत्कृष्ट रूपमा नियन्त्रण गर्दै पेनाल्टी क्षेत्रभित्रबाट शक्तिशाली प्रहार गरे। उनको प्रहार गोलकिपर फोफानालाई छक्याउँदै जाली चुमेपछि टोरन्टो स्टेडियम जर्मन समर्थकको खुसीले गुञ्जिएको थियो।

उन्डाभको दोस्रो गोलसँगै जर्मनीले २-१ गोलको महत्वपूर्ण जित निकाल्यो। यस विश्वकपमा उन्डाभले केवल ५६ मिनेट खेल्दै पाँच गोलमा प्रत्यक्ष योगदान जनाइसकेका छन्। उनी जर्मनीका लागि सुपर सबका रूपमा उदाएका छन् र आगामी खेलमा नागेल्समानले उनलाई सुरुदेखि मैदान उतार्छन् वा फेरि बेन्चबाटै प्रयोग गर्छन् भन्ने चासो बढेको छ।

पराजित आइभरी कोस्ट भने अन्तिम खेलअघि दबाबमा परेको छ।

यो जितसँगै जर्मनीले लगातार दोस्रो जित हात पार्दै समूह ‘ई’ बाट अन्तिम ३२ मा स्थान सुरक्षित गरेको छ। जर्मनीले अन्तिम खेलमा बराबरी मात्रै गरे पनि समूह विजेता बन्ने सम्भावना बलियो छ।