BIZMANDU
www.bizmandu.com

सिभिल हस्पिटलको कार्यकारी निर्देशक पदका लागि दरखास्त खुला, ककसले दिन पाउँछन्?

२०८३ असार ६

सिभिल हस्पिटलको कार्यकारी निर्देशक पदका लागि दरखास्त खुला, ककसले दिन पाउँछन्?
सिभिल हस्पिटलको कार्यकारी निर्देशक पदका लागि दरखास्त खुला, ककसले दिन पाउँछन्?

काठमाडौं। सरकारले काठमाडौंको निजामती कर्मचारी अस्पताल (सिभिल हस्पिटल) को कार्यकारी निर्देशक पदका लागि दरखास्त आह्वान गरेको छ। उक्त पदमा नियुक्ति खुला प्रतिष्पर्धाबाट गर्न भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दरखास्त खुलाएको हो।

Tata
GBIME
Nepal Life

मन्त्रालयको कर्मचारी कल्याण शाखाद्वारा शुक्रबार प्रकाशित सूचबाअनुसार गर्दै योग्यता पुगेका इच्छुक नेपाली नागरिकले आवेदन दिन सक्नेछन्। दरखास्त दिन १५ दिनको समयावधि छ।

आवेदनका साथमा ५ हजार शब्दमा नबढाई तयार पारिएको नेतृत्वदायी भूमिकासहितको चार वर्षको व्यावसायिक कार्ययोजना सिलबन्दी खामभित्र पेस गर्नुपर्छ। आवेदन दिनका लागि कृषि विकास बैंकको नयाँ बानेश्वर शाखामा रहेको अस्पतालको खातामा ५ हजार रुपैयाँ दस्तुर जम्मा गरेको सक्कल भौचर, नागरिकताको प्रतिलिपि र शैक्षिक योग्यताका स्वयं प्रमाणित प्रतिलिपिहरू संलग्न हुनुपर्नेछ।

यो पदका लागि आवेदन दिन चिकित्साशास्त्र वा अस्पताल व्यवस्थापन विषयमा स्नातकोत्तर उपाधि हासिल गरेको हुनुपर्छ। साथै, सोही विषयमा स्नातकोत्तर गरी चिकित्साशास्त्र वा अस्पताल व्यवस्थापन क्षेत्रमा कम्तीमा राजपत्राङ्कित द्वितीय श्रेणी वा सो सरहको पदमा न्यूनतम १५ वर्ष कार्य अनुभव भएको हुनुपर्छ।

निजामती कर्मचारी अस्पताल विकास समिति (गठन) आदेश, २०६४ अनुसार स्वास्थ्य क्षेत्रमा १५ वर्ष काम गरेको, चिकित्साशास्त्र वा अस्पताल व्यवस्थापनमा स्नातकोत्तर गरेको र ४५ वर्ष उमेर पूरा भएको नेपाली नागरिक यसका लागि योग्य हुनेछन्। तर, ६५ वर्ष उमेर पूरा भएका व्यक्ति, गैरनेपाली नागरिक, कुनै राजनीतिक दलका सदस्य, कालोसूचीमा परेका तथा नैतिक पतन देखिने फौजदारी अभियोगमा अदालतबाट कसुरदार ठहरिएका व्यक्तिहरू यस पदका लागि अयोग्य मानिनेछन्।

अस्पतालको प्रशासकीय प्रमुखको रूपमा रहने कार्यकारी निर्देशकको पदावधि चार वर्षको हुनेछ। आवेदकहरूको छनोट प्रक्रियामा शैक्षिक योग्यता, अनुभव, तालिम, प्रकाशित अनुसन्धानमूलक लेख, व्यावसायिक कार्ययोजनाको मूल्यांकन, कार्ययोजनाको प्रस्तुतिकरण र अन्तर्वार्ताको विधि अवलम्बन गरिने सूचनामा उल्लेख छ। जानकारीका लागि मन्त्रालय र अस्पतालको वेबसाइट हेर्न वा मन्त्रालयको कर्मचारी कल्याण शाखामा सम्पर्क गर्न सकिने जनाइएको छ।