BIZMANDU
www.bizmandu.com

रास्वपाको प्रतिनिधि सङ्ख्या चार हजारभन्दा बढी, सभापतिलाई २०० जना मनोनयन अधिकार

२०८३ असार ६

रास्वपाको प्रतिनिधि सङ्ख्या चार हजारभन्दा बढी, सभापतिलाई २०० जना मनोनयन अधिकार
रास्वपाको प्रतिनिधि सङ्ख्या चार हजारभन्दा बढी, सभापतिलाई २०० जना मनोनयन अधिकार

चितवन। राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन प्रतिनिधि ४ हजार २०० भन्दा बढी हुने भएको छ। प्रारम्भिक तथ्यांक अनुसार ४ हजार २१० प्रतिनिधि हुने केन्द्रीय सचिवालयले जनाएको छ।

Tata
GBIME
Nepal Life

सचिवालयका संगठन विभाग सचिव शंकर श्रेष्ठका अनुसार प्रारम्भिक तथ्यांकमा ३ हजार ८१० प्रतिनिधि देखिएको छ। यसमा २५ देशका प्रवास सम्पर्क विभागबाट २०० हाराहारी प्रतिनिधि थप हुने जानकारी उनले दिए। विधानतः सभापतिले मनोनयन गर्ने सङ्ख्या २०० छ।

यसका अतिरिक्त समूहगत रुपमा पार्टी प्रवेश गर्नेबाट अरु केही थप हुनसक्ने श्रेष्ठले बताए। शनिबार बिहानसम्ममा तयार गरिएको सूचीमाथि दाबी विरोध, दोहोरो पर्ने र छुटपुट भएमा त्यसलाई समावेश गरी अन्तिम नामावली प्रकाशन गरिनेछ।

रास्वपाको शनिबारै बस्ने केन्द्रीय समितिको बैठकमा सभापतिले विधानतः मनोनयन गर्न पाउने प्रतिनिधिको नाम पेस भएपछि साँझसम्ममा अन्तिम नामावली तयार हुने उनले बताए। प्रारम्भिक तथ्यांकअनुसार कोशी प्रदेशबाट प्रतिनिधिको संख्या ५२० छ।

यस्तै मधेसबाट ६३०, बागमतीबाट ७९०, लुम्बिनीबाट ४९०, गण्डकीबाट ४७०, कर्णालीबाट ३६० र सुदूरपश्चिमबाट ५५० जना प्रतिनिधि महाधिवेशनमा सहभागी हुने जानकारी उनले दिए। महाधिवेशन प्रतिनिधिका रुपमा पालिका सभापति, क्षेत्रीय सभापति र उपसभापति, जिल्ला सभापतिसहित पाँच जना, प्रदेश समितिका सबै सदस्यहरु रहने व्यवस्था छ।

यसैगरी, प्रदेशको विभाग, अनुशासन आयोग र सल्लाहकार परिषद्का पदाधिकारी प्रतिनिधि हुने व्यवस्था छ। संघीय नेतृत्व मञ्चका सबै केन्द्रीय समितिका सबै, केन्द्रमा रहेको ३८ वटा विभागका ११ जनाका दरले सदस्य र केन्द्रीय निर्वाचन आयोग, अनुशासन आयोग र लेखा आयोगका ११ जनाका दरले प्रतिनिधि हुनेछन्।

प्रत्येक गाउँपालिकाबाट एक जना, नगरपालिकाबाट दुई जना, उपमहानगरपालिकाबाट तीन जना र महानगरपालिकाबाट चार जना प्रतिनिधि हुनेछन्। प्रदेश सम्पर्क विभागबाट तीन जनाका दरले र जिल्ला सम्पर्क विभागबाट एक–एक जनाका दरले प्रतिनिधि हुने व्यवस्था छ।

गत प्रतिनिधिसभा सदस्य निर्वाचनमा रास्वपाकातर्फबाट उपविजेता र समानुपातिक सूचीमा रहेका प्रतिनिधि हुनेछन्। यस्तै २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा उपविजेता र समानुपातिक बन्दसूचीमा रही पार्टीमा सक्रिय भएका पनि प्रतिनिधि रहनेछन्। केन्द्रीय समितिमा नरहेका प्रतिनिधिसभा सदस्यसमेत प्रतिनिधि हुने व्यवस्था छ।

पार्टीको महाधिवेशन आइतबार भरतपुरको गेष्टहाउस चौरमा उद्घाटन हुनेछ भने बन्दसत्र उद्योग संघको प्रदर्शनी केन्द्रमा हुनेछ। महाधिवेशनका लागि पार्टी सभापति रवि लामिछानेसहितका नेताहरु चितवन आइपुगेका छन्।

प्रधानमन्त्री एवं पार्टीका वरिष्ठ नेता वालेन्द्र शाह आइतबार चितवन आउने कार्यक्रम छ। रासस