BIZMANDU
www.bizmandu.com

टर्किएमाथि १० खेलाडीमा समेटिएको पाराग्वेको कठिन जित, यस्तो छ समूहको समीकरण

२०८३ असार ६

टर्किएमाथि १० खेलाडीमा समेटिएको पाराग्वेको कठिन जित, यस्तो छ समूहको समीकरण
प्रतिस्पर्धामा पाराग्वे र टर्किएका खेलाडी। Photo: RSS/AFP

काठमाडौं। पाराग्वेले टर्किएलाई हराएको छ। फिफा विश्वकपअन्तर्गत समूह ‘डी’को खेलमा १० खेलाडीमा सीमित भएको पाराग्वेले टर्कियेमाथि १–० गोलको महत्त्वपूर्ण जित निकालेको हो। अमेरिकाको सान फ्रान्सिस्को बे एरिया स्टेडियममा शनिबार बिहान भएको खेलमा प्रारम्भिक गोल नै निर्णायक बनेपछि पाराग्वेले अन्तिम समयसम्म दबाब झेल्दै तीन अंक हात पारेको हो।

Tata
GBIME
Nepal Life

खेल सुरु भएको केवल ६५ सेकेन्डमै पाराग्वेले अग्रता लिएको थियो। जुलियो एन्सिसोले दिएको पासलाई माटियास गालार्जाले उत्कृष्ट रूपमा सदुपयोग गर्दै बायाँ खुट्टाबाट प्रहार गरेका थिए। बल गोलपोस्टको दायाँ कुनामा पुग्दा टर्किए स्तब्ध बनेको थियो।

सुरुआती गोलपछि टर्किएले खेलमा पूर्ण दबाब बनायो। पहिलो हाफमा ८२ प्रतिशत बल नियन्त्रणमा राखेको टर्किएले बराबरी गोलका लागि लगातार अवसर सिर्जना गर्‍यो। ३४औं मिनेटमा हाकान चाल्हानोग्लुको फ्रिकिकमा मर्ट मुल्दुरको हेडर पोस्टमा लागेर फर्किएको थियो। त्यसअघि आर्डा गुलरले पनि राम्रो अवसर गुमाएका थिए।

पहिलो हाफको इन्जुरी समयमा पाराग्वे ठूलो संकटमा पर्‍यो। मिगुएल अल्मिरोनले विपक्षी खेलाडीसँग विवाद गर्ने क्रममा मुख छोपेर केही बोलेको भन्दै भीएआरको सिफारिसपछि सिधै रातो कार्ड पाए। नयाँ फिफा नियमअनुसार मुख छोपेर अपमानजनक वा अनुचित अभिव्यक्ति दिएमा खेलाडीलाई रातो कार्ड दिन सकिने व्यवस्था लागू गरिएको छ।

१० खेलाडीमा झरेपछि पाराग्वे दोस्रो हाफभर रक्षात्मक रणनीतिमा देखियो। टर्किएले लगातार आक्रमण गरे पनि गोल गर्न सकेन। ४८औं मिनेटमा केनान यिल्दिजको प्रहार साइड नेटमा लाग्यो भने ५८औं मिनेटमा चाल्हानोग्लुले नजिकैबाट प्रहार गरेको बल बारमाथिबाट बाहिरियो।

खेलभर टर्कियेले ३२ वटा प्रहार गरेको थियो, जसमा पाँच प्रहार मात्रै लक्ष्यमा पुगे।

यो जितसँगै पाराग्वेले नकआउट चरण पुग्ने सम्भावना बलियो बनाएको छ। अर्कोतर्फ लगातार दोस्रो हार बेहोरेको टर्किए भने एक खेल बाँकी रहँदै विश्वकपबाट बाहिरिने संघारमा पुगेको छ। यो समूहबाट लगातार दुई जित निकालेको अमेरिका नकआउट चरणमा पुगिसकेको छ।