एटलान्टा। विश्वकप फुटबलको रोमाञ्चक माहोलबीच हजारौं दर्शक रंगशालामा प्रवेश गरिरहेका थिए। तर बिना रामरुपका लागि त्यो दिन उत्साहभन्दा निराशाको बन्यो।
उनले १३ वर्षीय नाति एलिजाह गोम्सको जन्मदिन उपहारस्वरूप विश्वकपको खेल हेर्न टिकट किनिदिएकी थिइन्। तर खेल सुरु हुनुअघि नै उनले थाहा पाइन्, उनीहरूले टिकट पाएनन्। स्पेन र केप भर्डेबीचको खेल हेर्नका लागि उनले महिनौंअघि स्टबहबमार्फत प्रतिटिकट ४८५ डलर तिरेर टिकट किनेकी थिइन्। तर खेलको दिनसम्म पनि ती टिकट फिफाको टिकटिङ एपमा ट्रान्सफर भएनन्।
समस्या समाधानका लागि उनी घण्टौंसम्म फोनमा स्टबहबका प्रतिनिधि र फिफाका कर्मचारीबीच दौडधुप गरिरहिन्। तर दुवै पक्षले दोष एकअर्कामाथि थोपरे। अन्ततः स्टबहबले रकम फिर्ता गर्ने प्रस्ताव राख्यो।
‘मलाई पैसा फिर्ता चाहिएको थिएन, म खेल हेर्न चाहन्थें,’ रामरुपले भनिन्।
त्यतिबेला रंगशालाभित्र खेल सुरु भइसकेको थियो। बाहिर उभिएकी रामरुपका आँखा रसाए। उनी र उनका नाति टिकट नपाई घर फर्किन बाध्य भए।
विश्वकपको उत्साहबीच यस्ता गुनासा भने बढिरहेका छन्। सामाजिक सञ्जालमा हजारौंले टिकट नपाएको, अन्तिम समयमा अर्डर रद्द भएको वा टिकट हस्तान्तरणमा समस्या आएको भन्दै असन्तुष्टि पोखिरहेका छन्।
धेरैजसो गुनासा स्टबहबसँग सम्बन्धित भए पनि सीटगीक र भिभिड सिट्सजस्ता अन्य रि-सेलर प्लेटफर्ममार्फत टिकट किनेका समर्थकले पनि यस्तै समस्या भोगेको बताएका छन्।
विशेषज्ञहरूका अनुसार केही समस्या टिकट ट्रान्सफर प्रक्रियामा आएको प्राविधिक त्रुटिका कारण हुन सक्छन् भने केही अवस्थामा विक्रेतासँग सुरुमै टिकट नभएको पनि हुन सक्छ। यद्यपि स्टबहबले आफ्नो प्लेटफर्ममा त्यस्तो हुन नसक्ने दाबी गरेको छ।
फिफाले समर्थकलाई आफ्नो आधिकारिक पुनर्बिक्री प्लेटफर्ममार्फत मात्र टिकट खरिद गर्न आग्रह गर्दै आएको छ। फिफाको प्लेटफर्ममा पुनर्बिक्री हुने प्रत्येक टिकटमा खरिदकर्ता र बिक्रेताबाट १५–१५ प्रतिशत गरी कुल ३० प्रतिशत अतिरिक्त शुल्क लाग्छ।
तर धेरै समर्थकले कम मूल्य, सजिलो प्रयोग वा पुरानै बानीका कारण अन्य पुनर्बिक्री वेबसाइटबाट टिकट किनेका थिए।
रामरुपले पनि स्टबहबबाट टिकट किन्दा कुनै जोखिम रहेको महसुस गरेकी थिइनन्। किनभने यसअघि उनले त्यही प्लेटफर्मबाट टिकट खरिद गर्दा समस्या भोग्नुपरेको थिएन।
खेल छुटेपछि उनी र उनका नाति लामो रेलयात्रा गर्दै एटलान्टाको उपनगर फर्किए। बाटोभरि एलिजाहले मोबाइलमा खेलको नतिजा हेरिरहेका थिए।
खेल गोलरहित बराबरीमा सकियो। नातिले हजुरआमालाई सम्झाउँदै भने, ‘हामीले धेरै कुरा गुमाएनौं, हजुरआमा।’
‘ऊ आफैं निराश थियो, तर मलाई सान्त्वना दिइरहेको थियो,’ रामरुपले भावुक हुँदै भनिन्।
रामरुप मात्र होइनन्, त्यही खेलमा दर्जनौं समर्थक यस्तै समस्यामा परेको एपीका पत्रकारले प्रत्यक्ष देखेका थिए।
स्टबहबले भने समस्या फिफाको टिकटिङ प्रणालीमा रहेको जनाएको छ। कम्पनीका अनुसार फिफाको प्रविधि पूर्वाधार कमजोर छ, अन्तिम समयमा टिकट हस्तान्तरण सम्बन्धी नियम परिवर्तन गरियो र नयाँ टिकटिङ एप पनि प्रतियोगिता सुरु हुनुभन्दा केही साताअघि मात्रै सार्वजनिक गरियो।
तर फिफाले आफ्नो आधिकारिक प्लेटफर्ममार्फत खरिद गरिएका टिकट सुरक्षित रूपमा हस्तान्तरण हुने दाबी गरेको छ।
विशेषज्ञहरूका अनुसार समस्या केवल प्राविधिक मात्र होइन।
टिकट उद्योगका अनुभवी तथा टिकट टक नेटवर्कका सह–संस्थापक स्कट फ्रिडम्यानका अनुसार केही बिक्रेताले आफूसँग टिकट नहुँदै बिक्रीका लागि सूचीकरण गर्ने गर्छन्। उनीहरू खेल नजिकिँदै जाँदा टिकटको मूल्य घट्ने अनुमान गर्छन् र पछि सस्तोमा किनेर ग्राहकलाई उपलब्ध गराउने योजना बनाउँछन्।
तर विश्वकप सुरु भएपछि टिकटको मूल्य उल्टै आकासिएकाले कतिपय विक्रेता वाचा पूरा गर्न नसकेका हुन्।
‘यो नयाँ समस्या होइन,’ फ्रिडम्यान भन्छन्, ‘टेलर स्विफ्टको इरास टुरजस्ता कार्यक्रमहरूमा पनि यस्ता घटना भएका छन्। तर अहिले विश्वकप भएकाले यो विश्वव्यापी समाचार बनेको हो।’
स्टबहबले भने विक्रेतालाई टिकट भएको प्रमाण पेस गरेपछि मात्र बिक्री गर्न अनुमति दिइने जनाएको छ।
यसैबीच टेक्सासको डलास नजिक बस्ने पापे एनडाउ पनि यस्तै समस्याबाट पीडित बने। उनले आफ्नो छोरा हाईस्कुल उत्तीर्ण भएको खुसीमा नेदरल्यान्ड्स र जापानबीचको खेल हेर्न दुईवटा टिकट प्रतिटिकट करिब ५५० डलरमा किनेका थिए।
तर खेल हुनुभन्दा दुई दिनअघि स्टबहबबाट इमेल आयो – ‘बिक्रेताले तपाईंलाई टिकट उपलब्ध गराउन सक्दैन।’
एनडाउले सुरुमा रकम फिर्ता लिनुको सट्टा स्टोर क्रेडिट स्वीकार गरे। तर अन्तिम समयमा टिकटको मूल्य १ हजार ५०० डलरभन्दा माथि पुगेपछि नयाँ टिकट किन्न असम्भव भयो।
छोरालाई खेल हेर्न नपाउने खबर सुनाउँदा उनी निकै दुःखी बने। ‘उसले सबै साथीहरूलाई खेल हेर्न जाने कुरा बताएको थियो,’ एनडाउले भने, ‘उ १७ वर्षको किशोर हो, तर त्यो खबर सुनेर रोयो।’
यद्यपि सबैको अनुभव यति खराब भने रहेन। नर्थ क्यारोलिनाका प्याट्रिक ओ’निल आफ्नो परिवारका पाँच सदस्यका लागि स्पेन–केप भर्डे खेलको टिकट लिएर एटलान्टा पुगेका थिए।
तर पाँचमध्ये दुईवटा टिकट मात्र सफलतापूर्वक ट्रान्सफर भए। त्यसपछि उनका १५ वर्षीय छोरा र एक आफन्त खेल हेर्न रंगशालाभित्र प्रवेश गरे भने ओ’निल, उनकी पत्नी र अर्को आफन्त नजिकैको बारमा बसेर खेल हेर्न बाध्य भए।
घटनाबारे स्थानीय सञ्चारमाध्यममा समाचार आएपछि स्टबहबले उनीहरूलाई अर्को खेलको टिकट दिने प्रस्ताव गर्यो।
तर परिवारसँग अर्को खेलको टिकट पहिल्यै भएकाले उनीहरूले ती टिकट स्थानीय गैरनाफामूलक संस्था ‘सकर इन द स्ट्रिट्स’लाई दिन अनुरोध गरे, ताकि आर्थिक अभावका कारण खेल हेर्न नपाउने बालबालिकाले अवसर पाऊन्।
‘स्टबहब खराब कम्पनी होइन,’ ओ’निलले भने, ‘तर यो यस्तो प्रणालीको हिस्सा हो जसले सामान्य परिवार र बालबालिकालाई विश्वकपजस्तो ठूलो प्रतियोगिता प्रत्यक्ष हेर्न झन् कठिन बनाइदिएको छ।’
स्टबहबले पछि उक्त संस्थालाई टिकट उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ। (एपी)