काठमाडौं। सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीको आइतबार चितवनमा हुने प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा नेपाली कम्युनिष्ट पार्टीबाट नेता वर्षमान पुन जाने भएका छन्।
नेकपाले महाधिवेशनको उदघाटन सत्रमा रास्वपालाई शुभकामना दिन पुनलाई पठाउने भएको हो। रास्वपाले भरतपुरको गेष्ट हाउस चौरमा हुने सम्मेलन उदघाटन समारोहमा सहभागी हुन संयोजक पुष्पकमल दाहाल प्रचण्डलाई निमन्त्रणा पठाएको थियो।
प्रचण्ड केही अघि निकै बिरामी परेर अस्पताल भर्ना भएका थिए। पूर्ण रुपमा स्वास्थ्यलाभ नभइसकेका कारण प्रचण्डले पुनलाई पठाउन लागेका हुन्। निमोनिया र ज्वरोका कारण अस्वस्थ भएपछि प्रचण्ड करिब १० दिन अस्पताल बसेर १८ जेठमा डिस्चार्ज भएका थिए।
त्यसयता पहिलोपटक पार्टी मुख्यालय कोटेश्वर पेरिसडाँडामा शुक्रबार आयोजित सदस्यता नवीकरण अभियानको शुभारम्भ कार्यक्रममा उनी सहभागी भएका थिए। नेता पुनले आफू रास्वपा महाधिवेशनमा शुभकामना दिन आइतबार बिहानै चितवन जान लागेको बताए।