काठमाडौं। असार महिनामा विवाह, व्रतबन्ध तथा अन्य शुभकार्यका कारण सामान्यतया सुनचाँदी बजारमा चहलपहल बढ्ने गर्छ। तर यस वर्ष मलमास सकिएर विवाहको सिजन सुरु भइसके पनि सुन बजार भने अपेक्षाअनुसार चलायमान हुन सकेको छैन। व्यवसायीहरूका अनुसार उच्च मूल्य, करसम्बन्धी अन्योल र घट्दो क्रयशक्तिका कारण ग्राहक सुन खरिद गर्न हिच्किचाइरहेका छन्।
एक महिनाभन्दा बढी समय मलमास परेकाले विवाह तथा धार्मिक कार्यहरू रोकिएका थिए। गत मंगलबारदेखि मलमास सकिएसँगै बजारमा सुनको माग बढ्ने अपेक्षा गरिएको थियो। तर सुनचाँदी व्यवसायीहरूका अनुसार असारको तेस्रो सातासम्म पनि बजार सुनसानजस्तै छ।
गहना पसलमा पुगेका परिवारहरु नयाँ सुन खरिदको साटो पुराना गहना ल्याएर त्यसलाई गाल्दै नयाँ डिजाइन अर्डर गरिरहेका भेटिन्छन्। अत्यावश्यक परेकाहरुले पनि खरिद नगण्य मात्रामा गरिरहेका छन्।
नेपाल सुनचाँदी व्यवसायी महासंघका उपाध्यक्ष धर्मसुन्दर बज्राचार्यका अनुसार आगामी साउन १ गतेदेखि सुनमा लाग्दै आएको २ प्रतिशत विलासिता कर हट्ने भएकाले धेरै ग्राहक खरिद निर्णय स्थगित गरेर बसेका छन्। सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत सुन खरिदमा लाग्ने २ प्रतिशत विलासिता कर हटाएर ०.५ प्रतिशत सीप प्रवर्द्धन शुल्क मात्र लगाउने व्यवस्था गरेको छ।
उनका अनुसार विलासिता कर २ प्रतिशत भनिए पनि त्यसको प्रभाव ग्राहकमाथि अझ बढी पर्ने गरेको थियो। त्यसैले साउनपछि करको भार कम हुने अपेक्षाले ग्राहकहरू अहिले पर्ख र हेरको अवस्थामा रहेका छन्।
सुनको मूल्य लगातार उच्च तहमा रहनु पनि कारोबार घट्नुको अर्को प्रमुख कारण बनेको छ। पछिल्ला वर्षहरूमा सुनको मूल्य तोलाको २ लाख ५० हजार रुपैयाँ नाघेपछि बजारको माग उल्लेखनीय रूपमा घट्न थालेको व्यवसायीहरू बताउँछन्। केही समयअघि मूल्य तोलाको २ लाख ९० हजार रुपैयाँभन्दा माथि पुगेपछि सामान्य उपभोक्ता बजारबाट झनै टाढिएका छन्।
महासंघका अनुसार बजारमा माग नहुँदा वाणिज्य बैंकहरूमा करिब ३० केजी सुन मौज्दात छ। व्यवसायीहरूसँग रहेको सुनसमेत बिक्री नभएकाले बैंकहरूले थप सुन आयात नगरेको जानकारी दिइएको छ।
हाल अधिकांश ग्राहकले नयाँ सुन खरिद गर्नुको सट्टा पुराना गहना ल्याएर थपथाप गरी नयाँ डिजाइन बनाउने गरेका छन्। अत्यावश्यक आवश्यकता भएका ग्राहकले मात्र सुन खरिद गरिरहेको व्यवसायीहरूको भनाइ छ।
न्युरोडस्थित जेजे ज्वेलर्सका सञ्चालक पवन सोमानियाका अनुसार यसपटक विवाहको सिजन सुरु भइसक्दा पनि बजारमा अपेक्षा अनुसारको चहलपहल देखिएको छैन।

‘पहिलेजस्तो असारका लागि अग्रिम अर्डर आउने क्रम अहिले छैन,’ उनले भने, ‘साउनदेखि विलासिता कर हट्ने भएकाले त्यसपछि मात्रै बजारमा केही सुधार आउला भन्ने अपेक्षा गरेका छौं।’
उनका अनुसार व्यवसायीहरूले यही सिजनलाई लक्षित गर्दै विभिन्न डिजाइनका गहना तयार गरेर राखेका छन्। तर खरिद गर्ने ग्राहकको संख्या हरेक वर्ष घट्दै गएको देखिन्छ।
सुनचाँदी व्यवसायी माणिक रत्न साक्यले पनि अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घट्न थालेकाले आगामी दिनमा माग बढ्न सक्ने अपेक्षा व्यक्त गरे। उनका अनुसार हालसम्म बजारमा उल्लेखनीय सुधार देखिएको छैन।
‘भाउ घटेन। ग्राहकहरु पुराना गहना ल्याएर नयाँ बनाउँछन्, नयाँ किन्न हतारिदैनन्,’ उनले भने, ‘त्यसैले बजारमा सुन बिक्री घट्छ।’
चालु आर्थिक वर्षको असार मसान्तसम्म सुन खरिद गर्दा २ प्रतिशत विलासिता कर लाग्ने व्यवस्था कायम छ। साउन लागेपछि उक्त कर हटेर ०.५ प्रतिशत सीप प्रवर्द्धन शुल्क मात्र लाग्ने भएकाले त्यसपछि कारोबारमा सुधार आउने अपेक्षा व्यवसायीहरूले गरेका छन्।
यसैबीच अन्तर्राष्ट्रिय बजारमा लगानीकर्ताले नाफा सुरक्षित गर्ने क्रम बढ्नुका साथै अमेरिकी डलर बलियो बन्दै जाँदा शुक्रबार सुनको मूल्यमा उल्लेख्य गिरावट आएको छ। नेपाली बजारमा एकै दिन सुनको मूल्य तोलामा १० हजार ५ सय रुपैयाँले घटेको थियो। यद्यपि व्यवसायीहरूका अनुसार मूल्य अझै केही घटे मात्र ग्राहक बजारमा फर्किने सम्भावना बढ्छ।
व्यवसायीहरूले सीमावर्ती क्षेत्रमा अर्को चुनौती पनि देखिएको बताएका छन्। नेपालको तुलनामा भारतमा सुनको मूल्य सस्तो परेकाले सीमावर्ती जिल्लाका ग्राहकहरू खरिदका लागि भारतीय बजारतर्फ जाने गरेका छन्। यसको प्रत्यक्ष असर तराई क्षेत्रका सुनचाँदी पसलमा परेको व्यवसायीहरूको भनाइ छ।
उच्च मूल्य, करसम्बन्धी परिवर्तनको प्रतीक्षा, सीमापारको मूल्य अन्तर र उपभोक्ताको कमजोर खरिद क्षमता जस्ता कारणले अहिले सुन बजार सुस्त बनेको छ। व्यवसायीहरू भने साउनदेखि करको भार घट्ने र मूल्य केही नरम रहने अवस्था बने बजारमा पुनः चहलपहल फर्किने आशामा छन्।