काठमाडौं। प्रहरीले काठमाडौंबाट स्रोत नखुलेको नगद २२ लाख रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउपछि उनीहरु क्रिप्टो कारोबारमा पनि संलग्न रहेको खुलेको छ।
पक्राउ पर्नेमा काठमाडौं बूढानीलकण्ठ-६ बस्ने नुवाकोटको म्यागङ-५ का करिब ४७ वर्षीय तारालाल विश्वकर्मा र कामपा-१६ बस्ने पर्वतको मोदी-७ का ५० वर्षीय होमबहादुर केसी रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले बताए।
‘लाजिम्पाटको एउटा बारमा अभौतिक मुद्राको कारोबार भइरहेको भन्ने सूचनाका आधारमा प्रहरी वृत्त दरबारमार्गबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो,’ एसपी भट्टराईले भने।
छापा मार्न गएको टोलीले विश्वकर्माले बोकेको झोलामा २२ लाख नेरु, ४० अमेरिकी डलर र दस्तखत गरेको तर रकम उल्लेख नगरेको चार थान चेक बरामद गरेको प्रहरीले जनाएको छ।
विश्वकर्माले प्रयोग गर्ने गरेको मोबाइलमा रहेको वाइनान्समा करिब २००० युएसडीटी बराबरको क्रिप्टो मुद्राको कारोबार देखिएको छ। पक्राउ परेकाहरूलाई काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिइ थप अनुसन्धान भइरहेको प्रवक्ता भट्टराईले बताए।