काठमाडौं। विद्युतीय सवारी साधन (इभी) जाँचपास गर्ने क्रममा रसुवा भन्सार कार्यालयका कर्मचारीले लापरबाही गरेको भन्सार विभागको छानबिनबाट खुलेको छ।
विभागले निर्देशकको नेतृत्वमा खटाएको अनुगमन टोलीले इभी जाँचपासका क्रममा कर्मचारीले पदीय जिम्मेवारी पूरा नगरेको निष्कर्षसहितको प्रतिवेदन बुझाएको छ। प्रतिवेदनका आधारमा रसुवा भन्सारका तत्कालीन १३ जना कर्मचारीलाई निलम्बन गरी कारबाही प्रक्रिया अगाडि बढाइएको छ।
‘रसुवा भन्सार कार्यालयबाट विद्युतीय सवारी साधनको भन्सार जाँचपास गर्ने क्रममा कर्मचारीहरूबाट पर्याप्त सावधानी तथा पदीय जिम्मेवारी पूरा गरेको नदेखिएको अनुगमन टोलीको प्रतिवेदनले औंल्याएको छ। अनुगमन टोलीले प्रज्ञापनपत्र, कार्यालयको अभिलेख लगायतको विषयमा स्थलगत अध्ययन गर्दा कतिपय सवारी साधनहरू भन्सारमा भौतिकरूपमा आइ नपुग्दै कागजातका आधारमा मात्र जाँचपास गरिएको फेला पारेको छ,’ विभागले प्रेस विज्ञप्ति जारी गरी भनेको छ, ‘कानुनी प्रक्रिया पूरा नगरेको देखिएकोले रसुवा भन्सार कार्यालयका तत्कालीन कार्यालय प्रमुखसहित १३ जना कर्मचारीलाई निलम्बन गरी विभागीय कारबाहीको प्रक्रिया अघि बढाइएको छ।’
स्रोतका अनुसार रसुवा भन्सार कार्यालयका तत्कालीन प्रमुख तुलसीप्रसाद भट्टराईसहितका १३ कर्मचारीलाई १५ दिनको समय दिएर स्पष्टीकरण सोधिएको छ।
इभीको जाँचपासमा गडबडी भएको बाहिरिएपछि विभागले जेठ १७ गते रसुवामा अनुगमन टोली खटाएको थियो।
मुस्ताङको कोरला नाकाबाट इभी आयातका हकमा भने कुनै कैफियत नदेखिएको प्रतिवेदन पेस भएको छ।
‘मुस्ताङ भन्सार कार्यालयमा खटिएको अनुगमन टोलीको प्रतिवेदन अनुसार उक्त कार्यालयबाट २०८३ जेठ १२ र १३ गते कुल ६४९ वटा विद्युतीय सवारी साधन घोषणा भई ९ वटा प्रज्ञापनपत्रमार्फत जाँचपास प्रक्रिया अघि बढेको पाइएको छ। टोलीले आधिकारिक अभिलेख तथा सीसीटीभी फुटेजको विस्तृत अध्ययन एवं विश्लेषण गर्दा उल्लेखित ६४९ वटै विद्युतीय सवारी साधन जेठ १४ गतेभित्रै नेपाल प्रवेश गरिसकेको र सोही मितिसम्ममा भन्सार कार्यालयबाट नियमानुसार जाँचपास भइसकेको निष्कर्ष निकालेको छ,’ विभागको विज्ञप्तिमा भनिएको छ।