BIZMANDU
www.bizmandu.com

एनओसीका निमित्त एमडी डिलर्स एसोसिएसनकै कार्यक्रममा फायर, ‘नाफा चाहिए अर्को व्यवसाय गर्नू’

२०८३ असार ५

एनओसीका निमित्त एमडी डिलर्स एसोसिएसनकै कार्यक्रममा फायर, ‘नाफा चाहिए अर्को व्यवसाय गर्नू’
एनओसीका निमित्त एमडी डिलर्स एसोसिएसनकै कार्यक्रममा फायर, ‘नाफा चाहिए अर्को व्यवसाय गर्नू’

काठमाडौं। नेपाल पेट्रोलियम डिलर्स एशोसिएसनको ४६औं वार्षिक साधारण सभा शुक्रबार होटल एभरेष्ट वानेश्वरमा राखिएको थियो।

Tata
GBIME
Nepal Life

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठ प्रमुख अतिथि थिए भने महासंघकै पूर्व अध्यक्ष कुशकुमार जोशीदेखि कार्यकारिणी सदस्य शिवप्रसाद घिमिरे मञ्चमा बसेका थिए।

चुनाबमा नयाँ नेतृत्व आउने भएकाले होटलको सभा हल भरिएको थियो। साधारण सभाको उद्घाटनमा एशोसिएसनका अध्यक्ष लिलेन्द्र प्रधानले आयल निगमले परिमाण अनुसार तेल नदिएको गम्भीर आरोप लगाउँदै कमिसन समेत समयानुकुल समायोजन नहुँदा व्यवसायीले नोक्सानी ब्योहोर्नुपरेको बताए।

उनले आयल निगमलाई एकपछि अर्को आरोप लगाउँदा हलमा रहेका व्यवसायीले तरर ताली पिटेका थिए। अध्यक्षपछि साधारण सभामा शुभकामना मन्तब्य दिन आएका निगमका निमित्त कार्यकारी निर्देशक दीपक बराल आक्रामक रुपमा प्रस्तुत भए।

उनले राजनीतिक आडमा पेट्रोल पम्प खोलेको आरोप लगाउँदै नाफा कम भए व्यवसाय छाडेर जान सुझाब दिए। ‘राजनीतिक शक्ति प्रयोग गरेर तपाईंहरुले कसरी पम्प लिनुभएको छ हामीलाई थाहा छ। तपाईंहरुले भाषण ठोकेर आयल निगमलाई नाँगेझार बनाउन छाडनुस्।’ बरालले निगमको डिपोमा चेकजाँच गरेर तेल लैजाने र पम्पमा पुगेर कम भएको आरोप लगाउनुको अर्थ नभएको धारणा राखे। उनले अध्यक्ष प्रधानप्रति पनि कटाक्ष गर्दै भने-‘१४ वर्ष अध्यक्ष भएर बस्नुभयो। एकपटक समस्या लिएर आउनुभयो।’

बरालले व्यवसायीकै कारण नेपाली सेना र प्रहरीले पेट्रोल पम्प खोल्नुपरेको बताए। ‘तपाईंहरुले माग राख्न पम्पनै बन्द गर्नुभयो। उपभोक्ताप्रति उत्तरदायी नभएपछि नेपाली सेना र प्रहरीलाई पम्प खोल्न दिनुपर्‍यो,’ उनले भने। बरालले व्यवसायीको आलोचना गरेपछि त्यहाँको माहोलनै फेरिएको थियो।

मञ्चमै रहेका केही व्यवसायी घोसेमुन्टो लगाएर बसेका थिए। उनी आफ्नो मन्तब्य दिएर हलबाट वाहिरिएपछि बोल्ने महासंघका केन्द्रीय सदस्य घिमिरेले पेट्रोलियम पदार्थमा एकाधिकार रहेकै कारण निगम शक्तिशाली रुपमा प्रस्तुत हुने गरेको बताउँदै प्रतिस्पर्धा हुने वातावरण तयार गर्नुपर्ने धारणा राखे।