काठमाडौं। विभिन्न चार वटा अध्यादेश संघीय संसद्का दुवै सदनबाट स्वीकृत भएका छन्।
प्रतिनिधि सभाको शुक्रबार बसेको बैठकले सार्वजनिक खरिद (दोस्रो संशोधन), सम्पत्ति शुद्धीकरण निवारण (तेस्रो संशोधन) सहकारी (पहिलो संशोधन) र स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश सर्वसम्मतरुपमा स्वीकृत गरेको छ।
सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिनिधित्व नरहेको राष्ट्रिय सभाले ती अध्यादेश बहुमतले स्वीकृत गरेको छ। राष्ट्रिय सभामा अध्यादेश स्वीकृत गर्न सरकारलाई एमाले बाहेकका विपक्षी दलले साथ दिएका छन्।
सरकारले गत वैशाख तेस्रो साता ८ वटा अध्यादेश ल्याएको थियो। चार वटा अध्यादेश भने स्वीकृतिका लागि पेस गर्न बाँकी छ।
संसद् अधिवेशन बोलाएको ६० दिनभित्र प्रतिस्थापन विधेयक प्रमाणीकरण भइसक्नुपर्नेमा सरकारसँग त्यसका लागि अब तीन साता मात्र बाँकी छ। संसद् अधिवेशन वैशाख २८ गते सुरु भएको थियो।