युरोपेली संघ (ईयू) छोड्ने निर्णय (ब्रेक्जिट) गरेको असर बेलायतको अर्थतन्त्रमा देखिएको छ। एक अध्ययनले ब्रेक्जिटका कारण बेलायती अर्थतन्त्रमा ६ प्रतिशतको गिरावट आएको देखाएको हो।
बैंक अफ इंगल्याण्डको आन्तरिक व्यावसायिक तथ्यांक विश्लेषण गरेर अर्थशास्त्रीहरूले यो निष्कर्ष निकालेको बीबीसीले उल्लेख गरेको हो।
अध्ययनका अनुसार अर्थतन्त्रमा परेको कुल असरमध्ये आधा जति ब्रेक्जिटपछिको अनिश्चितताका कारण भएको थियो। बाँकी आधा असर सन् २०२१ मा बेलायतले ईयूको साझा बजार छोडेपछि बढेका व्यापारिक अवरोधहरूका कारण भएको देखिएको छ।
स्ट्यानफोर्ड विश्वविद्यालयका प्राध्यापक निक ब्लुम र बैंक अफ इंगल्याण्डका अर्थशास्त्रीहरुले गरेको अनुसन्धानले अन्य परम्परागत विधिहरू प्रयोग गर्दा यो क्षति औसतमा ८ प्रतिशतसम्म देखिने उल्लेख गरेका छन्।
यद्यपि, केहीले भने यस अध्ययनले अमेरिकाको प्राविधिक क्षेत्रको प्रगति र युरोपको ऊर्जा संकट जस्ता विश्वव्यापी कारकहरूलाई पूर्ण रूपमा समेट्न नसकेको र ब्रेक्जिटको असरलाई बढाएर देखाएको तर्क गरेका छन्।
बैंकका गभर्नर एन्ड्रयू बेलीले पनि ब्रेक्जिटका कारण व्यापारिक बजार खुम्चिँदा आर्थिक गतिविधि र वृद्धिदर सुस्त भएको स्वीकार गरेका छन्।
यसैबीच, प्रधानमन्त्री किर स्टार्मरले आगामी जुलाईमा ईयूका नेताहरूसँग भेट्ने तय भएको छ। भेटका क्रममा खाद्यान्न, कृषि निर्यात र ऊर्जा व्यापार जस्ता क्षेत्रमा नयाँ सम्झौताहरू गर्ने तयारी भएको बताइन्छ।
स्टार्मरलाई अहिले आफ्नै पार्टी भित्र पद छाड्न दबाब बढ्दो छ। यसबीच उनलाई ब्रेक्जिटले पारेको असर कम गर्ने चुनौती छ। त्यसमाथि उनलाई बेलायतलाई फेरि ईयूमा प्रवेश गर्न प्रस्ताव पनि भइरहेको छ। त्यसबारेमा अहिले नै कुनै निर्णय भने लिइएको छैन।