विक्रम सम्वत २०६४ साल बैशाख ७ गते देखि मुलुकको २० औं वाणिज्य बैंकको रुपमा संचालनमा आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले हालै मात्र ८ औ विशेष साधारण सभा सम्पन्न गरिसकेको छ। ८ औं विशेष साधारण सभाबाट सर्वसाधारण सेयरधनीका तर्फबाट ३ जना र संस्थापक सेयरधनीका तर्फबाट १ जना गरि जम्मा ४ जना संचालक समेत निर्वाचित गरेको छ।
सर्वसाधारणलाई सेयर वितरण गरेको वर्षदेखि नै सेयरधनीहरुलाई निरन्तररुपमा लाभांश वितरण गर्न सफल यस बैंकको संचालक समितिमा अनुभवी एवं कुशल व्यवसायिक व्यक्तित्वहरु आबद्ध छन्। संचालक समितिको अध्यक्षमा सफल युवा व्यवसायीका रुपमा परिचित तथा उघोग वाणिज्य महासंघका उपाध्यक्ष श्री प्रबलजंग पाण्डे छन्। इन्जिनियरिङमा स्नातकको उपाधि प्राप्त गरेको पाण्डेसँग औषधिमूलक उत्पादन (फार्मास्यूटिकल्स) तथा सिमेन्ट उत्पादनको करिब २० वर्ष भन्दा बढी लामो समयको अनुभव रहेको छ। उनी विभिन्न सामाजिक तथा पेशागत संघसंस्थाहरुमा समेत आबद्ध छन्।
संचालक समितिका अन्य सदस्यहरु पनि आआफ्नो क्षेत्रमा सफल एवं विज्ञ व्यक्तिहरु छन्। संचालक समितिका सदस्य प्रकाशचन्द्र मैनाली देशकै ख्यातिप्राप्त एक संयुक्त लगानीको वाणिज्य बैंकमा करिब ९ वर्ष भन्दा बढी कार्य अनुभवका साथै सेवामुलक उद्योग लगायत कुखुरा एवं पन्छीजन्य उद्योगमा लामो समयदेखि आबद्ध छन्।
बैंकका अर्का संचालक दिग्विजय विष्ट एक कुशल र अनुभवि व्यवसायी हुन्। जसले करिब २५ वर्षभन्दा बढी समयदेखि पूँजी बजार, वित्तीय क्षेत्र र अन्य व्यवसायिक क्षेत्रहरूमा उनको प्रभाव देख्न सकिन्छ। उनले मियामी युनिभर्सिटी, ओहायो यूएसएबाट एमबिए डिग्री प्राप्त गरेका छन्। साथै, उनी विभिन्न सामाजिक र व्यावसायिक संस्थाहरूसँग पनि आबद्ध छन्।
बैंकका अर्का सञ्चालक अनिल ज्ञवालीसँग बैंकिङ क्षेत्रमा करिब साढे तीन दशक लामो अनुभव रहेको छ। शाखा संचालन तथा जोखिम व्यवस्थापनमा अब्बल तथा अनुभवी बैंकरका रूपमा परिचित ज्ञवालीले विभिन्न वाणिज्य बैंकको महत्वपूर्ण ओहदामा रहि आफ्नो कार्यकुशलता प्रदर्शन गरि सकेका छन्। वाणिज्य बैंकमा सहायक प्रबन्धकबाट बैंकिङ पेशा सुरु गरेका ज्ञवालीसँग नेपालका ठूला २ वटा वाणिज्य बैंक तथा नेपाल पूर्वाधार बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यसम्पादन गरेको लामो अनुभव रहेको छ।
फिलिपिन्सबाट व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका ज्ञवालीसँग अन्तर्राष्ट्रिय बैंकमा काम गरेको अनुभव समेत रहेको छ। ज्ञवाली यस अघि पनि यस बैंकको संचालकमा रहिसकेकझो अनुभव समेत रहेको छ।
संचालक समितिका सदस्य डा. बिनोद आत्रेय एक अनुभवी पूर्व केन्द्रीय बैंक अधिकारी हुन्। उनले ४० वर्षभन्दा बढी केन्द्रीय बैंकमा विभिन्न तहमा रहेर काम गरिसकेका छन्। उनले तालिम र विकास, रणनीतिक योजना, मानव संशाधन व्यवस्थापन र सामान्य सेवाहरूको प्रशासन, र सूक्ष्म वित्त (माइक्रो फाइनान्स) सञ्चालन जस्ता क्षेत्रमा विशेषज्ञता हासिल गरेका छन्।
उनले ७ वर्षसम्म संघीय राष्ट्रहरूमा संयुक्त राष्ट्र परियोजनाहरूमा काम गरेका थिए। त्यहाँ विभिन्न मन्त्रालयहरूको लागि संस्थागत सुधार र पुनर्संरचना कार्य योजना तयार गर्न उनको भूमिका रहेको थियो। उनीसँग तीन वर्षभन्दा बढी समय सार्वजनिक क्षेत्रको बैंकमा प्रमुख कार्यकारी अधिकृतको रूपमा समेत आबद्ध भई बैंकलाई नाफामुखी बनाउनका लागि सुधार लागु गरेको अनुभव छ।
८ औं विशेष साधारण सभाबाट सर्वसाधारण सेयरधनीका तर्फबाट निर्वाचित भएका संचालक समितिका सदस्य श्रीमती हीमा देवी खड्का केसी, विभिन्न अन्तर्राष्ट्रिय विकास संस्थाहरू जस्तै युएनडिपि, आइएलओ, जीआइजेड,अक्सफाम जीबी लगायतका अन्तर्राष्ट्रिय संस्थाहरूमा वरिष्ठ नेतृत्व एवं कार्यक्रम व्यवस्थापकको रुपमा २० वर्षभन्दा बढी अनुभव कार्य अनुभव रहेको छ।
उनले अन्तर्राष्ट्रिय परिपेक्षमा आइपरेका संकट र संकटनिवारण एवं विकासशील सन्दर्भहरूमा कार्यक्रम व्यवस्थापन, रणनीतिक नीतिमा नेतृत्वदायी भूमिका खेलेकी छन्। उनले सबैभन्दा पछिल्लो रूपमा युनडिपि यमनमा सब-अफिस प्रमुखको रूपमा नेतृत्वदायी भूमिका निर्भाह गरेकी थिइन्। उनले आर्थिक पुनरुत्थान, रोजगारी प्रवर्धन, एमएसएमई विकास र सामाजिक लचिलोपनमा करिब १०० मिलियन डलरको विविध कार्यक्रम पोर्टफोलियाकोे नेतृत्व गरिसकेकी छन्।
उनले आफ्नो क्यारियरको दौरानमा विभिन्न अन्तर्राष्ट्रिय संस्थाहरूको तर्फबाट नेपाल, यमन, अफ्गानिस्तान, तान्जानिया, नाइजेरिया, ताजिकिस्तान, लाओस र जिम्बाब्वे जस्ता देशहरुमा साझेदारी बनाउने, स्रोत जुटाउने, सार्वजनिक-निजी सहयोग, संस्थागत सुदृढीकरण, र समावेशी विकासमा अतुलनिय योगदान पुर्याएकी छन्। युवाहरू र महिलाहरूको सशक्तिकरण, वित्तीय समावेशीकरण, र जलवायु प्रतिरोधात्मकता प्रति उनको विशेष लगाव छ। उनीसँग युएनडिपि नेपाल / नेपाल सरकारसँग मिलेर माइक्रो-उद्यम विकास र वित्तीय समावेशीकरण विशेषज्ञ (लिङ्ग र युवा केन्द्रित) ; डिएफआइडी नेपालमा सामुदायिक वन अधिकारी; र अक्सफाम भुटानी शरणार्थी सहयोग कार्यक्रमका साथै नेपालमा भुटानी शरणार्थी क्याम्प समन्वयकर्ताका रुपमा सेवा प्रदान गरेको अनुभव छ ।
८ औं विशेष साधारण सभाबाट सर्वसाधारण सेयरधनीका तर्फबाट निर्वाचित भएका अर्का संचालक समितिका सदस्य डा. राजेन्द्र पण्डित, एक प्रतिष्ठित पूर्व केन्द्रीय बैंक अधिकारी हुन्। उनले २० वर्षभन्दा बढी केन्द्रीय बैंकमा विभिन्न तहमा रहेर काम गरिसकेका छन्। उनले केन्द्रिय बैंकमा कार्यरत रहँदा समृद्धि र सुधारका लागि महत्त्वपूर्ण भूमिका निर्भाह गरेका थिए।
विशेषगरी, उनले राष्ट्रको आर्थिक नीति र मौद्रिक रणनीतिहरूको विश्लेषण र विकासमा योगदान पुर्याउनुका साथै, बैंकको विदेश मुद्रा नीति, आर्थिक डेटा प्रणाली र वित्तीय समावेशीकरण नीति तयार गर्नको लागि योगदान गरेका छन्। डा. पण्डितले साना व्यवसाय र उद्यमशीलता सम्बन्धी अनुसन्धानमा गहिरो चासो राखेका छन्। कोभिड १९ महामारीको असर साना व्यवसायहरूको टिकाउपनमा कस्तो प्रभाव पार्छ भन्ने विषयमा उनले अनुसन्धान समेत गरेका छन्।
डा. पण्डितले पब्लिक पोलिसी र प्रशासनमा पीएचडी गरेका छन्। यसकाअतिरिक्त, उहाँले अर्थशास्त्रमा एमएससी/एमए तहको अध्ययन र विगत दुई दशकमाथि विश्लेषणात्मक र नीतिविश्लेषणका क्षेत्रहरूमा विशेषज्ञता हासिल गरेका छन्। पण्डितसँग अमेरिकामा विभिन्न अन्तर्राष्ट्रिय संस्थानहरूसँग काम गरेको अनुभव पनि छ। नेपाल र विश्वका प्रमुख सम्मेलनहरूमा प्रस्तुतीकरण गरिसकेका डा. पण्डित एक योग्य प्रशिक्षक, वक्ता, र विभिन्न जर्नलहरूको सम्पादकीय बोर्डका सदस्य समेत छन्।
डा. राजेन्द्र पण्डितले विभिन्न पुरस्कार र सम्मान समेत प्राप्त गरेका छन्। जसमध्ये २०१७ मा प्रबल जनसेवाश्री, २०२४ मालौरा बासी स्कॉलरशिप र २०२३–२४ मा ग्राजुएट स्कुल डिजरटेसन असिसटेन्टसिप प्रमुख छन्। उनले म्यानेजमेन्ट एशोसिएसन अफ नेपाल (म्यान) को प्रथम उपाध्यक्षको रूपमा समेत भूमिका निर्वाह गरिसकेका छन्।
शिक्षण र मार्गदर्शनमा डा. पण्डितले भर्जिनिया कमनवेल्थ युनिभर्सिटीमा ग्रेजुएट शिक्षण सहायकको रूपमा पाठ्यक्रम संचालन गरेका छन्। र काठमाडौं युनिभर्सिटीमा अर्थशास्त्रका विभिन्न विषयहरू पढाएका छन्। उनले भीसीयुका पीएचडी विद्यार्थीहरूको मार्गदर्शन पनि गर्दै छन्। आर्थिक सल्लाहकार र बजेट विशेषज्ञको रूपमा डा. पण्डितले नेपालको अर्थ मन्त्रालयमा कार्य गर्दै बजेट तयारीमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। र, २०११ को आर्थिक सर्वेक्षण सहलेखन गरेका थिए।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो संचालक समितिको संरचनामा अनुभव, व्यावसायिकता र सुशासनलाई उच्च प्राथमिकता दिएको छ। बैंकको संचालक समितिमा वित्तीय क्षेत्रका अनुभवी व्यावसायिकहरू रहेका छन्, जसले बैंकको दीर्घकालीन रणनीति, जोखिम व्यवस्थापन र व्यावसायिक विकासमा सकारात्मक योगदान दिंदै आएका छन् ।