BIZMANDU
www.bizmandu.com

क्वारेनटाइनले सहजै छुट्याउन नसक्ने बियाँले प्रहरीलाई तनाव, तस्करी गर्दा किलोमै हजार रुपैयाँ नाफा

२०८३ असार ५

क्वारेनटाइनले सहजै छुट्याउन नसक्ने बियाँले प्रहरीलाई तनाव, तस्करी गर्दा किलोमै हजार रुपैयाँ नाफा
क्वारेनटाइनले सहजै छुट्याउन नसक्ने बियाँले प्रहरीलाई तनाव, तस्करी गर्दा किलोमै हजार रुपैयाँ नाफा

काठमाडौं । सशस्त्र प्रहरीको महोत्तरीस्थित छिन्नमस्ता बाहिनीलाई सर्लाहीको एक घरमा ठूलो मात्रामा अवैधरुपमा ल्याएको सामान स्टोर गरेको सूचना आयो। मलंगवा नगरपालिका-२ स्थित नवीन कुमार यादवको घरमा सामान भएको सूचना आएपछि बुधबार राति सशस्त्र प्रहरी बल, नेपाल नम्बर-१० सर्लाहीको टोली परिचालन गरियो।

Tata
GBIME
Nepal Life

तर, प्रहरी टोलीले यादवको घरमा सूचनामा भनिएजस्तो केही सामान फेला पारेन। छापा मार्दा स्थानीयले प्रहरीको विरोध गरे। त्यसपछि प्रहरीले पुन: सूचना भेरिफाइ गर्‍यो। त्यसपछि नजिकै रहेको कृष्ण मन्दिरसँगैको सप्लायर्समा सामान रहेको ‘अपडेट’ आयो।

प्रहरी सोही सप्लायर्सका पुग्यो। नभन्दै त्यहाँको गोदामबाट प्रहरीले ७५ वटा बोरा बरामद गर्‍यो। बोरामा ‘बियाँ’ थियो। व्यवसायीसँग त्यसको पर्याप्त कागजपत्र थिएन। त्यसपछि प्रहरीले समान नियन्त्रणमा लियो।

स्थानीय फेरि विरोधमा उत्रिए। स्थिति तनावपूर्ण भएपछि प्रहरीले एक राउण्ड अश्रु ग्यास समेत प्रहार गर्‍यो।

बरामद सामान लाखौं मूल्यको भए पनि कम्पनी आन्तरिक राजस्वमा दर्ता भएको नदेखिएपछि प्रहरीले थप शंका गर्‍यो। प्रहरीले आफूले बरामद गरेको बिउ के को हो भन्ने पत्तो पाउन सकेको छैन। फर्सीको बियाँ भनेर जानकारी आए पनि ठ्याक्कै छुट्टिएको छैन। प्रहरीले परीक्षणका लागि क्वारेनटाइनमा पठाएको थियो। क्वारेन्टाइन कार्यालयले कुभिन्डो वा फर्सीको बियाँ हुन सक्ने भन्यो।

‘बरामद भएको सामान के हो भन्ने नै खुलेको छैन। क्वारेन्टाइनले कुभिन्डो वा फर्सीको बियाँ हुन सक्ने भनेको छ,’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले भने।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा यादवले सटर दुई दिनअघि मात्र भाडामा लिएर सामान राखेको खुलेको छ। एक साताअघि जेठ २७ गते प्रहरीले रौतहटमा पनि ३२२ बोरा यस्तै बियाँ बरामद गरेको थियो। प्रहरीले बरामद गरेको बस्तु तरबुजाको बियाँ (मगज) जस्तो देखिन्छ।

सीमा क्षेत्रमा ६ राउन्ड अश्रु ग्यास प्रहार गर्दै ९० लाख १६ हजार मूल्यको १२ हजार ८८० किलो फर्सीको बियाँ पक्राउ गरेको प्रहरीले जनाएको छ।

मधेस प्रदेश प्रहरी कार्यालयका एसएसपी प्रभु ढकालले दुईवटै घटनामा उस्तै खालका बियाँ बरामद भएको बताए।

‘दुई वटा घटना हेर्दा भारतमा पठाउनका लागि गोदाममा राखेको देखिन्छ। यसको मूल व्यक्तिसमक्ष पुग्ने गरि संयुक्तरुपमा अनुसन्धान भइरहेको छ,’ एसएसपी ढकालले भने।

भारतले सन् २०२३ देखि आयातमा परिमाणात्मक बन्देज लगाएको मगज विदेशबाट नेपाल भित्र्याएर भारतमा पठाउने गरेको खुलेको छ। किलोमा नै एक हजार रुपैयाँसम्म फाइदा हुने भएकाले व्यापारीले मगजको आयात ह्वातै बढाएको प्रहरीको भनाइ छ।

चालु आर्थिक वर्ष १० महिनामा २ अर्ब ८४ करोड ६६ लाख रुपैयाँ बराबरको १७ हजार ३४७ टन मगज आयात भएको छ। जबकी गत आर्थिक वर्ष २५ करोड ७० लाख रुपैयाँको १ हजार २८६ टन मगज आयात भएको थियो।

भन्सार विभागका अनुसार चालु वर्ष सबैभन्दा बढी अफगानिस्तानबाट ६ हजार ३४५ टन, नाइजेरियाबाट ५ हजार ११९ टन, सुडानबाट २ हजार ८३४ टन र यूएईबाट २ हजार ४७१ टन आयात गरिएको हो।